हुम तमु
पोखरा । तमुधिं नेपालले तमुवान प्रदेशको ४० गाउँमा तमु भाषा लेखन तालिम कार्यक्रम सम्पन्न गरेको छ । हिमाली आदिवासी समाजको सहकार्यमा तमुधिं नेपालले कास्की, स्याङ्गजा, तनहुँ, लमजुङ र मनाङ जिल्लाका गाउँ गाउँमा तमु भाषा लेखन तालिम सम्पन्न भएको हो ।
तमु भाषा वर्णमाला अभियानका साथै तमु भाषा लेखनमा एक रुपता ल्याउने पहल स्वरुप आयोजित कार्यक्रममा १ हजार २ सय भन्दा बढी तमुहरुलाई तालिम प्रदान गरेको शुक्रवार पोखरा ९ नयाँबजारस्थित तमुधिं नेपालमा आयोजित समीक्षा कार्यक्रममा जानकारी गराइएको थियो। तालिममा सहजकर्ताहरु बुद्धि तमु, गमबहादुर तमु, मिनबहादुर तमु र गजेन्द्र तमुले अभियानको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समीक्षा कार्यक्रमका प्रमुख अतिथि हिमाली आदिवासी समाजका निर्देशक शम्बु ल्होमीले तमु भाषा वर्णमाला अभियानले तमु भातृभाषाप्रति तमुहरुलाई जागरुक बनाएको बताए । उनले भाषा लोप हुँदै जानु भनेको भाषा हराउनु मात्रै नभई समुदायगत स्वपहिचान, विविधता, जैविकता, मौलिकता, संस्कृति, संस्कार, अस्तित्व अन्त्य हुनु हो भन्दै मातृभाषाप्रति घरघरबाट जागरण ल्याउनुपर्नेमा जोड दिए । उनले आगामी दिनमा पनि भाषा संरक्षण र विकासका लागि तमुधिं नेपालसँग सहकार्य गरेर अघि बढ्न हिमाली आदिवासी समाज आतुर रहेको बताए ।
तमुधिं नेपालका द्वितीय उपाध्यक्ष हुमबहादुर तमुले मातृभाषाको संरक्षण र विकास गर्ने हो भने बजार क्षेत्रमा रहेका मन्टेश्वरीहरुमा भाषा कक्षा शुरु गर्नुपर्ने बताए । घरमा अलि अलि सिकाएको तमु भाषा अंग्रेजी सिकाउने नाउमा मन्टेश्वरीदेखि नै तमु भाषाको घाँटी रेटिएको आरोप लगाए । उनले तमु भाषा विकास र संरक्षणका लागि संविधानमै व्यवस्था गरिए बमोजिम यस प्रदेशमा सरकारी कामकाजको भाषा तमु भाषा बनाउनुपर्ने बताए ।
तमुधिं नेपालमा महासचिव तथा अभियानका अनुगमनकर्ता गिरीप्रसाद तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहजकर्ता मिनबहादुर तमुले गरेका थिए ।






