
लन्डन १३ जनवरी २०२५ । बुद्ध फाउन्डेसन यूकेले बुद्धजयन्ती कार्यक्रम तयारीबारे बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग छलफल गरेको छ ।
राजदूत घिमिरेको स्वागतका लागि बुधबार दूतावास पुगेको फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठ नेतृत्वको टोलीले दूतावास समेतको सहकार्यमा फाउन्डेसनले आगामी मे पहिलो साता लन्डन ट्राफल्गर स्क्वायरमा गर्ने बुद्धजयन्ती कार्यक्रम तयारीबारे पनि छलफल गरेको हो । सोही अवसरमा अध्यक्ष श्रेष्ठले राजदूत घिमिरेलाई खादा र पुष्पगुच्छाले स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए । उनले बुद्ध फाउन्डेसन यूकेले विगतदेखि नै दूतावाससंग गर्दै आएको निकट सहकार्य राजदूत घिमिरेको कार्यकालमा झन् सुदृढ बन्ने आशा व्यक्त गरेको एक सहभागीले जनाए ।
राजदूत घिमिरेले स्वागतका लागि फाउन्डेसनलाई धन्यवाद दिँदै फाउन्डेसनले गर्दै आएका कामको प्रशंसा गरेका थिए । उनले दूतावासबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए । अध्यक्ष श्रेष्ठसँगै उपाध्यक्षहरु अर्जुन कटुवाल र सुशील प्रजापति, महासचिव डा सुरजमणि पौडेल, सचिव अञ्जना थापा, कार्यसमिति सदस्यहरु ह्यारी गुरुङ, राम थापा, ध्रुवहरि बास्कोटा, सम्झना महत तथा सल्लाहकारहरु फडिन्द्र भट्टराई र विनोद ज्ञवालीलगायत दूतावास पुगेका थिए ।






