
लन्डन १९ जनवरी २०२५ । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई एनआरएनए आईसीसी वेलफेयर अफ गोर्खा टाक्सफोर्सले ज्ञापनपत्र बुझाएको छ ।
गोर्खा टाक्सफोर्सका अध्यक्ष ह.ले. चन्द्र गुरुङ, सचिव तथा तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजङ गुरुङ र सल्लाहकार काउन्सिलर लक्ष्यबहादुर गुरुङसहितको प्रतिनिधिमण्डलले बुधबार काठमाडौंस्थित बुढानिलकण्ठस्थित देउवाकै निवास पुगेर विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाइएको हो । गोर्खाजहरुको वंशजको नागरिकता निरन्तरता, समान पेन्सनलगायत विषयमा ज्ञापनपत्र बुझाएको अध्यक्ष ह.ले. चन्द्र गुरुङले जानकारी दिए ।
काउन्सिल लक्ष्यबहादुर गुरुङले पनि गोर्खाको समान पेन्सन र नेपाली नागरिकताबारे विषय राखेको बताए । उनले भने ‘नेपालका भूपू प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँकै निवासमा भेटेर भूपू गोर्खाहरुको समान पेन्सन र विदेशी नागरिकता लिइसकेका नेपालीहरुको नेपाली नागरिकता निरन्तरताको विषयमा हाम्रो माग स्पस्टसँग राख्यौं ।’
ज्ञापनपत्र बुझ्दै सभापति देउवाले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएका सचिव नन्दजङ गुरुङले जानकारी गराए ।







