पोखरा २० जनवरी २०२५ । बेलायतवासी माइला-कान्छा (पार्वती गुरुङ र माया गुरुङ) पोखरामा सम्मानित भएका छन् ।
कोभिड १९ र अन्य विभिन्न कालखण्डमा समाजप्रति माइला-कान्छाले पुर्याएको योगदानको कदर गर्दै बुधबार पोखरा होटल ग्रान्डमा एक कार्यक्रमबीच गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले मायाको चिनोसहित सम्मान गरेकी हुन् । माया गुरुङ बेलायतमा रहेकीले सम्मान कार्यक्रममा सहभागी हुन पाइनन् ।
सम्मान ग्रहणपछि पार्वती गुरुङले अनपेक्षित सम्मानले थप जिम्मेवार बनाएको प्रतिक्रिया जनाउँदै नेपाली कांग्रेसकी नेतृत्व समेत रहेकी सांसद सरस्वतीलाई आफूहरुको तर्फबाट धन्यवाद दिएकी छन् ।’कर्म गर्दा कहिल्यै फलको आशा गरिनँ । तर अनपेक्षित सम्मानले थप जिम्मेवार बनाएको छ । कोभिड १९ मा गरेको समाजसेवाको मूल्यांकन गर्दै मेरो कान्छा भाइ माया गुरुङ र मलाई हिजो पोखरा होटल ग्रान्डमा भएको कार्यक्रममा पोखरा गण्डकी प्रदेशसभा सदस्य प्यारी बहिनी सरस्वती गुरुङले सम्मान गर्नुभएकोमा धेरै धन्यवाद,’ पार्वतीले फेसबुकमा लेखेकी छन् ।
तमु धीं यूकेकी कार्यसमिति सदस्य पार्वती अहिले अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीमा नेपाल भ्रमणमा आएकी हुन् ।
बेलायत निवासी माइला-कान्छा अभियानकै रुपमा स्थापित छ । दुई दिदीबहिनीले नेपालका विभिन्न खालका बिरामी, विद्यार्थी र पीडितलाई पटक-पटक सहयोग गर्दै आएका छन् ।







