सेमुक्तु मुम्कुम्लुङ संरक्षण सहयोग समिति बेलायतले पायो पूर्णता

SHARE:

यूएन लगायतका अन्तर्राष्ट्रिय मानवअधिकार संघसंस्थाहरुलाई मुम्कुम्लुङ आन्दोलनमा भएका सरकारी ज्यादतीको सूचना दिने


चन्द्र गोपाल
लन्डन २ मार्च २०२५ । नेपालको ताप्लेजुङमा मुम्कुम्लुङ संरक्षणको लागि नो केबुलकार पक्षको आन्दोलन चर्किरहेको बेलामा यूकेमा दिल सम्बाहाङफेको संयोजनमा ३३ सदस्यीय सेमुक्तु मुम्कुम्लुङ संरक्षण सहयोग समितिलाई पूर्णता दिइएको छ । गत साल अक्टोबर २२ मा आस्फोर्डमा भएको पहिलो भेलाले सम्बाहाङफेको संयोजनमा समिति गठन गरे पनि पूर्णता पाएको थिएन ।

अल्डरसटमा भएको यो दोस्रो भेलाले पूर्ण समितिको गठन गर्दै महत्त्वपूर्ण निर्णयहरु पनि गरेको छ । समितिको सहसंयोजकद्वयमा खड्गजङ आङ्बुहाङ र सुवास जवेगु निर्वाचित भएका छन् । सचिवमा शान्ति खिम्दिङ, सहसचिवमा लाहाङ चेम्जोङ, कोषाध्यक्षमा सुन्दर लिङथेप र सहकोषाध्यक्षद्वयमा जितेन चेम्जोङ र चरपे फुरुम्बोलाई निर्वाचित गरेको छ ।

यसैगरी, सदस्यहरुमा लोकेन्द्र तबेबुङ, गणेश इजम, अविन नाल्बो, निर्मल पतङवा, योगेन लिम्बु, सानु सुब्बा, जीत मेन्याङवो, लाल लिङ्देन, दिल फोम्बो, टङ्क येङदेन, राजेन्द्र नेम्बाङ ‘ए’, सिरी साम्यू, टिका मादेन, छत्र वनेम, राजकुमार नुगो, देवराज सम्बाहाङ्फे, भवानी नुगो, गौतम लिम्बु, देउमान आङ्बो, केशर एभेङ, लिला सेलिङ माबो, हाङमा लावती, जीवन फागो र भागिस्वोर चोङबाङ फागो निर्वाचित भएका छन् ।

लिम्बुवान नागरिक समाज यूकेको विशेष पहलमा भेला आयोजना गरिएको यो कार्यक्रमको अध्यक्षता संयोजक दिल सम्बाहाङ्फेले गरेका थिए । कार्यक्रमको सहजीकरण लिम्बुवान नागरिक समाज यूकेका सचिव लाहाङ चेम्जोङले गरेका थिए भने मुम्कुम्लुङ आन्दोलनको औचित्यबारेमा नागरिक समाजका अध्यक्ष छत्र वनेम, कियाचु महासचिव विश्वासदीप तिगेला, कियाचु केस टंक येङदेन, याक्थुङ चुम्लुङका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष लोकेन्द्र तबेबुङ, खड्गजङ आङ्बुहाङ, सुवास जवेगु, चरपे फुरुम्बो लगायतले प्रकाश पारेका थिए । अहिलेसम्म आन्दोलनलाई गरिएको आर्थिक सहयोगको पूर्ण बिवरण नागरिक समाजका कोषाध्यक्ष सुन्दर लिङथेपले प्रस्तुत गरेका थिए ।

त्यसैगरी, मुम्कुम्लुङ आन्दोलनका अभियन्ता गणेश इजमले प्रस्ताव गरेका कार्यसमितिलाई भेलाले एकमतले पारित गरेपश्चात् सेमुक्तु मुम्कुम्लुङ संरक्षण सहयोग समितिले पूर्णता पाएको हो । २२ तारिख राति ताप्लेजुङको फुङलिङमा आन्दोलनकारीहरुमाथि प्रहरी प्रशासनले अभद्र, बर्वर, अलोकतान्त्रिक, आतङ्ककारी, मानव अधिकारको हनन हुने अकल्पनीय कर्तुत गरेको ठहर गर्दै यी हर्कतहरु विश्वलाई सुनाउनुपर्ने निर्णय पनि गरेको छ । यसको लागि यूएनलगायत अन्तर्राष्ट्रिय मानवअधिकार संघसंस्थाहरुलाई न्यायको लागि आग्रह गर्ने र घटनाको सूचना दिने कार्यक्रमअन्तर्गत पत्राचार गर्ने, प्लेकार्डहरु प्रदर्शन गर्ने कुरा गणेश इजमले बताएका छन् ।

सम्पूर्ण सरोकारवाला लिम्बुहरुलाई जागरण गराउने कार्यक्रमअन्तर्गत मार्चको दोस्रो हप्तामा लण्डनमा अर्को भेला आयोजना गर्ने जानकारी लोकेन्द्र तबेबुङले दिएका छन् । समितिका संयोजक दिल सम्बाहाङ्फेले समापन मन्तव्य राख्ने क्रममा यो संस्था र यूके अभियान केबलकार बनाउने योजना जबसम्म फिर्ता हुँदैन र मुम्कुम्लुङलाई प्राकृतिक रुपमा नफर्काइन्जेलसम्म सक्रिय रहने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!