तस
तस्बिर : मिलन तमु
लन्डन ८ मार्च २०२५। नेपाली दूतावास लन्डनको टोलीलाई तमु धीं यूकेले सम्मान गरेको छ ।
शुक्रबार ७ मार्चमा मिचेटस्थित तमु धीं भवनमा आयोजित कार्यक्रममा बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेलगायतलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा राजदूत घिमिरे, पत्नी सरिता न्यौपाने, उपनियोग प्रमुख विपिन दुवाडी, सैनिक सहचारी महासेनानी अनुप शाह दम्पती,प्रथम सचिव उद्धव न्यौपाने, द्वितीय सचिव मिनकुमार राई दम्पती, तृतीय सचिव झुपलाल पुन दम्पतीलगायतलाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले फेटा,खादा, पछ्यौरा र बुकीसहित सम्मान गरे । जिम्मेवारी सम्हाल्न राजदूत घिमिरे गत १७ जनवरी २०२५ मा बेलायत आएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत घिमिरेले तमु धीं यूकेले नेपालमा विभिन्न क्षेत्रमा गरेको कार्य प्रशंसनीय र अन्य संस्थाका लागि चुनौतीपूर्ण रहेको बताए । राजदूतावासको टिमले तमु धीं यूकेसँग निरन्तर काम गर्ने भन्दै सम्भावना भएका ठाउँमा निरन्तर सहकार्य गर्ने उनले प्रतिबद्धता जनाए ।
अध्यक्ष जुमकाजी गुरुङले समय मिलाएर तमु धीं भवनमा उपस्थित भइदिएकोमा राजदूत घिमिरेसहित दूतावास परिवारप्रति आभार व्यक्त गरे । तमु धीं यूके र नेपाली दूतावास लन्डनबीच नङ र मासु जस्तै सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले भावी दिनमा सम्बन्ध कायम रहनेमा विश्वास व्यक्त गरे । उनले राजदूत घिमिरेलाई ४ वर्षे कार्यकाल सफलताको शुभकामना पनि दिए ।
यस्तै एनआरएनए यूकेका अध्यक्ष तथा तमु धीं यूकेका पूर्वअध्यक्ष हित काजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ लगायतले मन्तव्य राखेका थिए । अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा तमु धीं यूकेलगायत विभिन्न संस्थाका अध्यक्ष, प्रतिनिधिलगायतको उपस्थिति थियो ।






