
लन्डन ९ मार्च २०२५ । ठगीका घटना बढेपछि नेपाली राजदूतावास लन्डनले ठगी हुनबाट सचेत रहन विद्यार्थीहरुलाई आग्रह गरेको छ । बेलायतमा नेपाली विद्यार्थीमाथि भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दूतावासले विज्ञप्तिमार्फत उक्त अनुरोध गरेको हो ।
‘अध्ययनको लागि इच्छुक विद्यार्थीहरुले पनि आफू अध्ययन गर्न इच्छुक विश्वविद्यालय तथा कलेज आफैंमा मान्यताप्राप्त हुन होइनन्, साथै अध्ययन गर्ने कार्यक्रमको विषयमा लाग्ने शुल्क, भर्ना प्रक्रिया लगायतका विषयमा यथेष्ट जानकारी लिन र यस्ता विषयमा सचेत रहन राजदूतावास अनुरोध गर्दछ,’ शुक्रबार जारी विज्ञप्तिमा छ ।
दूतावासले विभिन्न एजेन्टमार्फत विद्यार्थी ठगीको विषय निन्दनीय र कसुरजन्य रहेको जनाएको छ । ‘पछिल्लो समय नेपालबाट संयुक्त अधिराज्यका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका लागि अध्ययन गर्न आउन इच्छुक विद्यार्थीहरु विभिन्न एजेन्टहरुमार्फत ठगिएको विषयमा पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा आएका समाचार तथा सूचनाहरुप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘संयुक्त अधिराज्यका विश्वविद्यालय तथा कलेजहरुमा दसकौंदेखि नेपाली विद्यार्थीहरु आई अध्ययन गर्दै आएका छन् र यो क्रम चलिरहेको छ । यद्यपि, यहाँका विश्वविद्यालय तथा कलेजहरुमा अध्ययनको लागि सहजीकरण गरिदिने आश्वासन देखाई नेपाली विद्यार्थीहरुलाई ठगी भइरहेको विषय निन्दनीय र कसुरजन्य छ ।’
ठगीजन्य कार्य गर्ने व्यक्तिहरुउपर आवश्यक कदम चाल्न नेपाल र संयुक्त अधिराज्यका निकायहरुमा आवश्यक समन्वय भइरहेको समेत दूतावासले जनाएको छ।







