४०औँ वार्षिकोत्सव नेपालमा मनाएपछि बेलायत फर्कियो गोर्खाज् इन्टेक १९८५ को टोली

SHARE:

लन्डन । गोर्खाज् इन्टेक १९८५ को टोली नेपालमा ४०औँ वार्षिकोत्सव मनाएर कर्मभूमि बेलायत फर्किएको छ । काठमाडौँको सोल्टी होटेलमा ८ फेब्रुअरीमा भव्यताका साथ वार्षिकोत्सव मनाएको टोली नेपालका विभिन्न स्थानको भ्रमणपश्चात् कर्मभूमि बेलायत फर्किएको हो ।

ब्रिटिस गोर्खा भर्तीको गौरवपूर्ण इतिहास छ । विश्वले वीर गोर्खाली भनेर चिनिनु नै गौरवको सर्वोच्च ताज हो । विश्वमा चलेको युद्धमा लड्नु गोर्खा पल्टनको एक्लो बाध्यता थिएन । सैन्य नियमको पालना गर्दै भिक्टोरिया क्रस प्राप्त गर्ने सूचीमा वीर गोर्खालीहरू दर्ज हुनु अनौठो घटना होइन । नेपाल र बेलायत सरकारबीचको सन्धि र सम्झौताले वीर गोर्खालीले आफ्नो क्षमता प्रदर्शन गर्दै आएका हुन् ।

यही क्रममा पुर्खाका पदचिह्न पछ्याउँदै गोर्खा पल्टन इन्टेक १९८५ प्रवेश पायो । उक्त इन्टेकमा नेपालको पूर्व–पश्चिमका गरी ४८२ जना भर्ती भएका थिए । यस इन्टेकका सिपाहीहरूमध्ये गोर्खालीले पल्टनमा पाउने सबैभन्दा माथिल्लो दर्जा, गोर्खा मेजर वा मेजरमा सात जना पुगेका छन् । अहिले सबैजना अवकाश प्राप्त भइसकेका छन् । उक्त इन्टेकका १३ जनाको मृत्यु भइसकेको छ ।

इन्टेक १९८५ नम्बरी परिवार २००६ सालमा गठन भएको हो । मातृभूमि नेपालमा पहिलो पटक इन्टेक ४०औँ वार्षिकोत्सव सम्पन्न गरेको हो । उत्सवमा इन्टेक १९८५ को नम्बरी परिवार, नाता आफन्तहरू, विभिन्न मिडियाका प्रतिनिधिको सहभागिता थियो ।

उक्त वार्षिकोत्सवका संयोजनकारी भूमिका शेर सुनारले गरेका थिए । ‘सुगौली सन्धिदेखि आजसम्म २१० वर्षको इतिहासमा कुनै पनि इन्टेक जन्मभूमि फर्केर मातृभूमिलाई सम्मान गरेको इतिहास थिएन,’ ४०औँ वार्षिकोत्सव नेपालमा मनाउनुको मुख्य कारणबारे उनी भन्छन्, ‘त्यो इतिहास कायम गर्दै हामी गोर्खालीहरू विदेशी छैनौँ । हामी र हाम्रो सन्ततिले मातृभूमिलाई माया गर्नुपर्छ । हामीले जस्तै सबै इन्टेक कक्षाका साथीहरूले मातृभूमिलाई सम्झिनोस् भन्ने सन्देश दिएका हौँ । आफ्नो विवाह वार्षिकोत्सव नेपाल गएर मनाउनुहोस् । जन्मभूमि प्रतिको माया अझै गाढा बनाउनु होस् ।’

वार्षिकोत्सवले नम्बरीको एकताले मातृभूमिप्रतिको माया झल्काएको छ । ‘लाहुरेहरू केवल बहादुर मात्र होइन, जन्मभूमिप्रति इमानदारी र वफादारी पनि देखाउन जान्दछन् भन्ने सन्देश प्रवाह भएको छ,’ अध्यक्ष लालबहादुर लिङदेन लिम्बूले भने, ‘गोर्खालीको नागरिकता खोसिनु हुँदैन भनेर नेपाल सरकारको ध्यानाकर्षण गराउन सफल भएका छौँ । आम नेपाली नागरिक आमा–बुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई सन्देश प्रवाह गरेका छौँ । त्यो सन्देश नेपाल सरकार मातहतको नेपाल टेलिभिजनबाट प्रसारण भएको छ ।’

यसैगरी लोकप्रिय कार्यक्रम इन्द्रेणीले पनि प्रसारण गरेको थियो । काठमाडौँ र इन्द्रेणी मात्र सीमित नभई कर्मथलोको मार्ग सुरु भएको पोखरा क्याम्प ढोको रेसको बाटो हुँदै भलम डाडागाउँ र त्यहाँका वासिन्दाहरूसँग रमाइलो भेटघाट पनि भएको थियो । उनीहरूले पञ्चेबाजाले स्वागत गरेका थिए । सो क्रममा गोर्खा म्युजियमलाई आर्थिक सहयोगसमेत गरेको अध्यक्ष लिम्बूले बताए ।

इन्टेक–८५ को उक्त ४०औँ वार्षिकोत्सवमा प्रेस विज्ञप्ति जारी गर्दै मातृभूमिलाई त्याग्न नचाहेको सन्देश प्रवाह गरिएको थियो । ‘हामी मातृभूमि त्याग्न चाहँदैनौँ । त्यसैले नेपाल सरकारले ब्रिटिस गोर्खा सैनिकहरू र हाम्रा परिवारलाई गैरआवासीय नागरिक नबनाओस् भन्ने आग्रह गर्दछौँ । बेलायत र नेपाल सरकारबीच दुई पक्षीय सम्झौता गरी हाम्रो भावना कदर गर्दै आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गरियोस् भन्ने माग दोहोर्‍याउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!