एटा संवाददाता
अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अध्यक्षमा नरेश गुरुङ निर्विरोध चयन भएका छन् । गत ३० सेप्टेम्बर आइतबारका दिन बिसीसी युकेको भवनमा सम्पन्न अधिवेशनले बिसीसी युकेको तेस्रो कार्यसमिति चयन गरेको हो ।
सो नयाँ कार्यसमितिको उपाध्यक्षमा धर्म तामाङ्ग, हर्क गुरुङ र आङ्गदावा शेर्पा चयन भएका छन् । त्यस्तै, रोविन गुरुङ महासचिव, दिनेश गुरुङ कोषाध्यक्ष, सविन्द्र कुमार गुरुङ मिडिया सेक्रेटरी, रामकाजी गुरुङ भवन सदस्य, टेकबहादुर गुरुङ सम्पत्ती सदस्य, ताराबहादुर गुरुङ भोजन सदस्य र आईबहादुर गुरुङ पूजा संयोजकमा चयन भएका छन् । सदस्यहरुमा यमकुमारी गुरुङ (दिलु), कुलबहादुर गुरुङ, सानु डि लामा र धनबहादुर गुरुङ चयन भएका छन् ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुरुङलगायत पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक मेजर (रि) डमर घले एमबिईले सपथ गराएका थिए । साथै, प्रमाण पत्रसहित खादा लगाई दिएका थिए । संस्थाको तेश्रो कार्यसमिति चयनका लागि सल्लाहकार मेजर (रि) डमर घलेको संयोजकत्वमा मेजर (रि) खुशीमान गुरुङ सचिव, सदस्यहरुमा डा. कपिल शर्मा, काजी शेर्पा र जङ्गबहादुर गुरुङ रहेको निर्वाचन समिति एक महिना अघि गठन भएको थियो ।
कार्यक्रमको पहिलो शत्रमा बिसीसी युकेका अध्यक्ष ले.रि. नारायण गुरुङ बिईएमले दोस्रो कार्यसमितिले विगत तीन वर्षमा गरेका विभिन्न कार्यहरुको उल्लेख गरेका थिए । साथै, उनले नयाँ आउने कार्यसमितिलाई शुभकामना समेत दिएका थिए । महासचिव गोविन्द गुरुङले बैठक सञ्चालन गर्दै कोषाध्यक्षको अनुपस्थितिमा संस्थाको बैंक खातामा रहेको रकमको जानकारी समेत गराएका थिए ।
बिसीसी युकेका ट्रष्टी सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा लगायतले विभिन्न सल्लाह र सुझावहरु दिएका थिए ।






