लन्डन– बेलायतस्थित नेपाली दूतावासले पहिलोपटक आइसल्याण्डको केम्यानमा घुम्ती शिविर संचालन गरेको छ । अप्रिल १४ २०२५ को दिन दूतावासको एक टोलीले आइसल्याण्डमा बसोबास गर्ने नेपालीलाई लक्षित गरि घुम्ती सेवा संचालन गरेको हो ।
बेलायतस्थित नेपाली दूतावासले ३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुनेहरुलाई राहदानी नवीकरण गर्न आव्हान गरेको थियो ।
उक्त घुम्ती सेवाबाट एक सय भन्दा बढी नेपालीले राहदानी नवीकरण, डकुमेन्ट प्रमाणीकरण, भिसालगायत अन्य सेवाहरू उपलब्ध गराएको दूतावासले प्रेस बिज्ञप्तिद्वारा अबगत गराएको छ।
आइसल्याण्डमा करिब ३ हजार बढी नेपाली बसोबास गर्दै आएको अनुमान छ । जसमध्ये धेरैजसो सेक्युरिटी, हस्पिटालिटीलगायत अन्य क्षेत्रहरुमा कार्यरत छन् ।
दूतावासले शिविर संचालन गर्न र सफल पार्न सहयोग पुर्याएकामा आइसल्याण्डमा बसोबास गर्ने नेपालीहरुप्रति आभार प्रकट गरेको छ ।
त्यस्तै बेलायतस्थित नेपाली दूतावासले ३० अप्रिल बुधबार आयरल्याण्डमा पनि घुम्ती शिविर गर्ने तयारी गरेको छ । आयरल्याण्डस्थित गैर आवासीय नेपाली संघले शिविर संचालनमा सहयोग गर्ने जनाएको छ ।







