सुरेन्द्र इङ्नाम
केन्ट, बेलायत । किरात सत्यहाङमा महागुरु फाल्गुनन्द समाज बेलायतले १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती मनाउने भएको छ । फाल्गुनन्द समाज बेलायतको गत ७ अक्टोबरमा फेल्थाममा बसेको बैठकले फेल्थाम कम्युनिटी हलमा महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाउने निर्णयसँगै सेवापूजा तथा माङ्लाङ नाचेर महागुरुलाई सम्झने निर्णय गरेको हो ।
बेलायतमा भूपू गोर्खाहरुलाई औपचारिक रुपमा बस्न पाउने व्यवस्था सन् २००४ मा ब्रिटिस सरकारले दिएपछि २००५ मा “किसमफा समाज” यूकेको स्थापना भएको हो । बेलायतमा किरातीहरुको बसोवास हुन थालेपछि शुभकार्य, विवाह, बर्खान्त, घरपूजा गर्न हाम्रो संस्कारमा अति आवश्यक भएकोले सो संस्थाको स्थापना गर्न जरुरी भएको अध्यक्ष दिपक तुम्बापोले जानकारी दिए । सो संस्थाले उधौली (चासोक तङ्नाम) र उभौली (यक्वा तङ्नाम) प्रत्येक वर्ष एक-एकपल्ट मनाउँदै आएको छ ।






