दशैं आउन लागेको छ । सबैतिर यसको तयारी भइरहेको छ । नेपालमा अहिले सबै चाडबाड सबैको बनिसकेको छ । एकले अर्काको चाडबाडमा मनारेञ्जन गर्ने, मनाउने र आपसमा शुभकामना आदानप्रदान गर्दै मनाउने गरिएको छ । दशैं सबै नेपालीले नमनाएपनि यसको छुट्टै महत्व भने छ । दशैंका बेलामा सबै कार्यालयले दिने बोनस होस वा सरकारी तबरबाट दिने सार्वजनिक छुट्टीका कारण पनि दशैं नेपालका सबै समुदायले आआफ्ना शैलीमा मनाइरहेका हुन्छन् ।
विशेष गरी कतिपयले दशैंलाई हिन्दूहरुको मात्र महान चाड हो भनेर भन्ने गरेका छन् । कतिपय समुदायले भने दशैंलाई आफ्नो मौलिक सांस्कृतिक चाडका रुपमा मनाउने गरेका छन् । कतिपयले भने दशैं पछिल्लो राज्यसत्ताले हिन्दूकरण गरेको आरोप लगाउने गरेका छन् । जे भएपनि दशैंलाई नेपाल सरकारले महत्वपूर्ण चाडका रुपमा लिने गरेको छ । सार्वजनिक विदा पनि पछिल्लो सयम ५ दिन दिने गरेको छ । यसअघि त १० दिनसम्म विदा दिएको उदाहरण पनि छ । अन्य चाडबाडमा भन्दा दशैंका बेलामा बढी नै सरकारले विदा दिने र सेवा सुविधा पनि त्यही अनुसारले दिने गरेकाले दशैं विशेष चाड जस्तो हुन पुगेको छ ।
दशैंलाई बढी प्राथमिकता दिँदा अन्य समुदायले भने दुखेसो गर्ने गरेका छन् । दशैं जस्तै अन्य चाडबाडलाई पनि समान सुविधा दिनुपर्ने, सार्वजनिक विदा दिनुपर्ने लगायतका माग राख्दै समेत आएका छन् । सबै चाडबाडको मौलिकता आफ्नै किसिमको छ । सबै चाडले तत्तत्समुदायमा महत्व राखेको हुन्छ । त्यसैले पनि मौलिकताको पहिचान स्थापित गर्नका लागि पनि सबैले चाडबाडलाई सोही बमोजिम नै सम्मान गर्न सक्नुपर्दछ । त्यसका लागि सबैको प्राथमिकताको विषय बन्न सक्नुपर्दछ ।
त्यसो त अहिले चाडबाडका बेला हुने विभिन्न अनैतिक क्रियाकलापले सबैजना सचेत समेत हुन आवश्यक छ । दशैं होस वा तिहार, ल्होछार होस वा इद । सबैको चाडमा सबैको भावनाको सम्मान हुन आवश्यक छ । यो सम्मानले मात्र सबैको हित गर्ने कुरामा दुइमत छैन । नेपाल विविधताले भरिपूर्ण भएको देश भएकाले पनि यी विविधतालाई सम्मान गर्न सक्नु नै अहिलेको आवश्यकता पनि हो । यो सँगसँगै विविधताले उचित स्थान पाउनु, सबैको धर्म, भाषा, संस्कृति र मौलिकताको पहिचान र सम्मान हुनुपर्दछ । त्यसो हुन सकेमा मात्र सबैले अपनत्व अनुभूति गर्नेछन् । यो अनुभूतिले मात्र देश शक्तिशाली बन्नेछ । जनजनको सम्मान हुनेछ । यसले नै समृद्ध मुलुक बनाउनका लागि टेवा दिनेछ ।






