लन्डन ११ जून २०२५ । नेपाल पत्रकार महासंघ यूके शाखाले यही जुन २२ मा पत्रकारितामा आर्टिफिसियल ईन्टेल्लिजेन्स (AI) प्रयोग र भूमिकाबारे भर्चुअल तालिम एवं गोष्ठी आयोजना गर्ने भएको छ ।
महासंघ यूकेको अप्रिल २० मा सम्पन्न कार्यसमिति बैठकको निर्णयअनुसार, हालको डिजिटल युग र सामाजिक सञ्जालको तीव्र विकाससँगै पत्रकारितामा आर्टिफिसियल ईन्टेल्लिजेन्स (AI) को प्रयोग र यसको प्रभावका विविध पक्षहरूमा केन्द्रित भर्चुअल कार्यशाला कार्यक्रमको आयोजना गरिने जानकारी महासंघले दिएको छ । तालिममा एआई र न्यु मिडियाविज्ञ पत्रकार प्रवेश सुवेदी प्रमुख प्रशिक्षकको रूपमा रहनेछन् । उनले ‘पत्रकारितामा एआई: अवधारणादेखि वास्तविक प्रयोगसम्म विषयमा आफ्नो कार्यपत्रसमेत प्रस्तुत गर्नेछन् ।
कार्यक्रम जुममार्फत स्थानीय समय बिहान साढे ११ बजे सुरु हुने छ । महासंघ केन्द्रका एक पदाधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् ।
शाखाका महासचिव खेमराज रानाभाटले सबै सदस्यलाई कार्यक्रममा सहभागी हुन र प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेका छन् । उनले यस कार्यक्रमले आजको सञ्चार परिवेशमा एआईको बढ्दो भूमिकालाई गहिरोसँग बुझ्न सघाउने विश्वास लिएको समेत बताए ।






