
लन्डन ११ जून २०२५ । पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम आगामी ३० अगस्ट २०२५ मा हुने भएको छ ।
फार्नबोरोस्थित ग्रेन्ज स्कुलमा ३० अगस्टमा वार्षिक भेला तथा सम्मान कार्यक्रम आयोजना गरिने पाँचथर समाज सेवा यूकेकी अध्यक्ष शान्ति लिम्बुले जानकारी दिइन् । उनले १६ औं वार्षिक भेलाको समय र स्थान १५ औं वार्षिक भेलाको समीक्षाकै चरणमा तय गरिएको प्रस्ट पारिन् ।
भेलाको अवसरमा बेलायतमा रहेका पाँचथरवासीले शिक्षा, साहित्य, खेलकुद, सामाजिक कार्य, कुनै पनि पेसा/व्यवसायमा वर्षभरिमा प्राप्त उपलब्धिका आधारमा सम्मान गरिने उनले बताइन् । यस्तै उत्कृष्ट अंक ल्याएर सफल भएका समाजका विद्यार्थीलाई शैक्षिक सम्मान गरिने छ ।
अध्यक्ष लिम्बुले पाँचथरसँग गाँसिएका सम्पूर्ण नेपाली समुदायलाई एक आपसमा भेटघाट गराएर सम्बन्ध कायम राख्न भेला आयोजनाको मुख्य उद्देश्य रहेको बताइन् । ‘वार्षिक भेला मनाउनुको मुख्य उद्देश्य वार्षिकोत्सव हो । पाँचथरसँग गाँसिएका सम्पूर्ण नेपाली समुदायलाई एक आपसमा भेटघाट गराएर सम्बन्ध कायम राख्न यो भेला प्रत्येक वर्ष गरिन्छ ।’
कार्यक्रमका लागि बेलायतमा रहेका विभिन्न संघ संस्थालाई निमन्त्रणा गरिने उनले बताइन् । पाँचथरवासी, बेलायतका विभिन्न संघ संस्थासहित सम्पूर्ण नेपालीबीच भेटघाट गरेर शुभकामना आदानप्रदान र भलाकुसारी गराउनकै लागि पाँचथर समाज सेवा यूकेले हरेक वर्ष वार्षिक भेला गर्दै आएको उनको भनाइ छ ।
अध्यक्ष लिम्बुले भेलामा सबै खालका मान्छे परिवारसहित आउने भएकोले यो पारिवारिक जमघटको अवसर हुने गरेको विश्वास व्यक्त गरिन् ।






