पोखरा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा सम्पन्न तमु धिं नेपाल पर्वत जिल्ला भेलाले दुर्लुङका प्रभु गुरुङको अध्यक्षतामा १७ सदस्यीय तमु धिं नेपाल पर्वत जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा क्षितिज गुरुङ, सचिवमा दुर्लुङका प्रितम गुरुङ, सहसचिवमा चित्रेका महेन्द्र गुरुरु, कोषाध्यक्षमा फलेवासकी रेवती गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरुमा बाजुङका भिमबहादुर गुरुङ, विहादीका गणेश गुरुङ, बालाकोटका धनप्रसाद गुरुङ, दुर्लुङका अशोक(प्रेमकुमार गुरुङ), लामेका सु.डम्बरबहादुर गुरुङ, कुश्माकी पार्बती गुरुङ, खाल्टेका दिलीपकुमार गुरुङ, चित्रेका जयप्रकाश गुरुङ, भँगराका सागर गुरुङलगायत रहेका छन् ।
यसरी नै सल्लाहकारहरुमा इच्छाबहादुर गुरुङ, प्रवीण गुरुङ, टेकबहादुर गुरुङ (आनन्द गुम्बा), टेकबहादुर गुरुङ (मोदी १), महेन्द्रकुमार गुरुङ, राजदेव गुरुङ रहेका छन् ।
निर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने विशेष अतिथि इच्छाबहादुर गुरुङ, टेकबहादुर गुरुङ, क्या.ठाकुरप्रसाद गुरुङ, कुमार गुरुङ, तमु धिं नेपालका सचिव जुमकाजी गुरुङ, केन्द्रीय सदस्य बिना गुरुङलगायतले बधाईका साथै प्रमाणपत्र वितरण गरेका थिए ।
यसअघि भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि बिहादी गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले भेलाको सफलताको शुभकामना व्यक्त गर्दै जातिभन्दा ठूलो पार्टी हुन नसक्ने भएकाले राजनीतिक विचार, आस्था फरकफरक भए पनि पर्वतका तमुहरु तमुधिं नेपाल पर्वत जिल्लामा गोलबन्द हुनुपर्नेमा जोड दिए । तमु धिं नेपालका अध्यक्ष कर्म तमुप्रति सम्मान व्यक्त गर्दै उनले तमुहरुको एकता, मौलिक पहिचान, कला संस्कृति संरक्षणका साथै समयानुकूल हामी परिमार्जित हुँदै अधिकार प्राप्तिसहितको सान्दर्भिक उद्देश्यहरुका साथ क्रियाशील संस्थाले बेला बखत तमुहरुको फुस्रो आश्वासनमा अलमल्याउनेहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिए ।
अधिकार राम्रा नारालगायत पदमा पुगेपश्चात् तमुलगायत आदिवासीहरुलाई बिर्सने गरेको दुखेसो गर्दै उनले सम्पूर्ण तमु संघ संस्थाहरुको एकता आवश्यकतामा जोड दिए । अब सबै गुरुङहरु खुल्ला प्रतिस्पर्धाबाट पनि उत्कृष्ट बन्ने प्रयास गरिए तमुहरुको प्रगति हुने भन्दै राज्य र दलहरुबाट पाउने कोटाहरुमा तमुहरुको समावेशीताका लागि पहल जरुरी रहेको उनको भनाइ थियो। म बिहादी गाउँपालिकाको अध्यक्ष छु, हामीले बिहादीमा धर्म, संस्कृतिको बारेमा बजेट विनियोजन गरे पनि तमुहरुले कहिल्यै माग गर्न नआउनु आफ्नो अधिकारबारे बुझ्न नसकेको हुनुपर्दछ भन्दै तमु धिं पर्वतले सम्पूर्ण तमुहरुलाई आफ्नो अधिकारका बारेमा प्रशिक्षित गराउँदै संगठित गर्ने विश्वासका साथ आफ्नो व्यक्तिगत, विहादी गाउँपालिका र आफू आबद्ध रहेको पार्टीबाट सधै साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
विशेष अतिथि राप्रपाका केन्द्रिय सदस्य इच्छाबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपालको स्थापनाका उद्देश्य, लामो संघर्ष, योगदान र भुमिकाका बारेमा चर्चा गर्दै तमुहरुको एकताको अभियानमा तमु धिंले सफलता पाउने विश्वास गर्नुभयो। उहाँले पर्वतमा बसोबास गर्ने तमुहरुको साझा संगठनको रुपमा तमु धिं नेपाल पर्वत अघि बढ्ने शुभेच्छा प्रकट गरे ।
आनन्द गुम्बाका अध्यक्ष टेकबहादुर गुरुङ, मोदी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष टेकबहादुर गुरुङ, जिल्ला समन्वय समिति पर्वतका सदस्य दर्शन घले, पैयुँखोला तमु समाज पोखराका अध्यक्ष कुमार गुरुङ, फलेबास तमु समाजका सचिव रेवती गुरुङले शुभकामना व्यक्त गर्दै सम्पूर्ण तमुहरुको एकताको आवाश्यकताका साथै तमु धिं नेपाल पर्वतले तमुहरुलाई संगठित गर्दै नेतृत्व प्रदान गर्ने अपेक्षा गरे।
नवनिर्वाचित अध्यक्ष प्रभु गुरुङले आफुलाई लामो इतिहास बोकेको तमु धिं नपाल पर्वतको नेतृत्वको जिम्मेवारी प्राप्त भएको खुशी व्यक्त गर्दै पर्वतका सम्पूर्ण तमुहरु संगठित गर्दै उदाहरणीय कार्य गर्न आफ्नो कार्यसमिति सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे।
यसरी नै तमु धिं नेपाल पर्वतका सल्लाहकार महेन्द्रकुमार गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा स्वागत द्वितीय उपाध्यक्ष नारायण गुरुङले स्वागत र कृष्णकुमार गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा तमु धिं नेपाल केन्द्रीय युवा समिति र चारभञ्ज्याङ तमु समाज पोखरा युवा समितिले नृत्य प्रस्तुतिका साथै वरिष्ठ सँस्कृतिकर्मी कृष्णकुमार गुरुङ पर्वतका पुराना गीतहरु प्रस्तुत गर्दै मनोरञ्जन दिलाएका थिए ।






