तानसेन पाल्पाका नारायण भट्टराई भलिबलका सामान्य खेलाडी हुन् । भलिबल खेल्न जाँदा उनी बललाई औंलामा राखेर घुमाउने प्रयास गर्थे । यसरी बल घुमाउँदा उनलाई रमाइलो लाग्थ्यो । उनले यसरी बल घुमाउँदा अन्य साथीहरु उनलाई हौस्याउँथे । रमाइलोको लागि बललाई औंलामा राखेर घुमाउने प्रयास कुनै दिन विश्व रेकर्ड होला भन्ने भट्टराई आफैले पनि सोचेका थिएनन् । यही रमाइलोको लागि गरिएको प्रयास १० वर्षपछि विश्व रेकर्डमा दर्ज भयो ।

एक हातको एउटा औलामा बललाई राखेर लामो समय घुमाएको रेकड भट्टराईको नाममा दर्ज भएको छ । वल्र्ड रेकर्ड अफ गिनीज बुकले गत ८ मे (२५ बैशाख)मा गिनीज बुकले उनलाई लामो समय बल घुमाएको रेकडको प्रमाणपत्र दिएको हो । उनले एक हातको एउटा औलामा बललाई राखेर ११ मिनेट २२ सेकेण्ड घुमाएर सो रेकर्ड राखेका हुन् । यसअघि त्यस्तो रेकर्ड स्पेनका अल्काराजको नाममा रहेको थियो । उनी त्यहाँको बास्केटबल टीमका राष्ट्रिय खेलाडी हुन् । भट्टराईले अल्काराजको १० मिनेट ३३ सेकेण्ड रेकडलाई तोडेका हुन् ।
१० वर्षदेखि रमाइलोको लागि बललाई औंलामा राखेर घुमाए तापनि रेकर्डकै लागि भने १५ महिनादेखि मात्र लागीपरेको उनी बताउँछन् । ‘सुरुमा रमाइलोको लागि गर्थे, पछि वल्र्ड रेकर्ड पनि राख्न सकिन्छ भनेपछि १५ महिनादेखि ध्यान दिएर अभ्यासमा जुटे । उनी भन्छन् ‘विश्व रेकर्डमा आफ्नो प्रयास सँगै देशको नाम पनि लेखाउन सफल भएकोमा खुसी छु ।’ ग्वार्कोमा औषधि पसल सञ्चालन गर्दै आएका भट्टराई दिउँसो अभ्यास गर्ने समय नहँुदा राति १० बजेपछि अभ्यास गर्ने गरेको बताउँछन् । ‘दिउँसो अभ्यास गर्न नपाएर राति १० बजेपछि २ घण्टा गर्थें ।’ उनी भन्छन् ‘त्यो प्रयास सार्थक भएको छ ।’
गिनीज बुकका रेकर्ड रखेपछि मेहनत गर्ने हो भने जस्तोसुकै काम पनि गर्न सकिनेरहेछ भन्ने आत्माविश्वास बढेको उनको अनुभव छ । त्यही आत्माविश्वासका कारण पहिलो रेकर्ड राखेको छ महिना नबित्दै उनमा अन्य रेकर्ड आफ्नो हातमा पार्ने जोस चलेको छ । गिनीजबुकमा अन्य दुई रेकड भट्टराईको नाममा दर्ता हुने अन्तिम चरणमा पुगेका छन् । ‘अब चाँडै नै अन्य दुई वटा रेकर्डको प्रमाणपत्र थाप्ने तरखरमा छु ।’ उनले भने ‘एक महिनाभित्र एउटा थाप्छु होला अर्को दुई महिना जति लाग्छ ।’ उनले थाप्न लागेका दुई प्रमाणपत्रमा पेन्सलमा बललाई राखेर लामो समय घुमाउने र अर्को एक हातको एक औंलामा लामो समय विचवल (जिमबल) घुमाउने हो । त्यसको लागि सबै प्रकृया पुर्याएर उनले पठाइसकेका छन् । उनले पाएको सूचना अनुसार अब रेकर्डको प्रमाणपत्र आउन मात्र बाँकी रहेको छ ।
‘पेन्सिलमा बललाई राखेर घुमाएको रेकर्ड पनि खिचेर पठाइसकेको छु ।’ उनले भने, ‘गिनीज टोलीले सबै प्रमाणित गरिसकेको छ अब प्रमाणपत्र आउन मात्र बाँकी छ ।’ पेन्सीलमा बल राखेर एक हातले घुमाउने यस अघिको रेकर्ड ३ मिनेटको मात्र छ । तर, उनले २९ मिनेट घुमाएर रेकर्डको लागि दाबी पठाएका छन् । विचवलको रेकर्ड पनि लामो अन्तरमा तोड्ने तयारीमा रहेको उनले बताए । अहिलेसम्म ६ मिनेटको मात्र वल्ड रेकर्ड भएकोमा भट्टराईले १६ मिनेटसम्म घुमाएर त्यसको रेकर्ड खिचेर बल्ड रेकर्ड आफ गिनीज बुक टिकलाई पठाएका छन् । यी दुवै रेकर्ड हाल भारतीय मुलका नागरिकको नाममा छ ।
उनी आपूmमा बलसँग सम्बन्धित १५ देखि २० तरिकाले घुमाउन सक्ने क्षमता भएको दाबी गर्छन् । आफ्नो क्षमतालाई क्रमिक रुपमा वल्र्ड रेकर्डमा दर्ता गराउन लागेको बताए । पहिलो रेकडपछि नै उनलाई विभिन्न देशका विभिन्न क्लबबाट कला प्रदर्शन गर्न निमन्त्रणा आउन थालेका छन् ।
– भिषा काफ्ले






