काठमाडौं १५ जुलाई २०२५ । समाजसेवी तथा व्यवसायी मीनबहादुर गुरुङले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जमा साढे ९ करोडको नयाँ भवन बनाइदिएका छन् ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले आफ्ना आमाबुबा वृषबहादुर गुरुङ र धनमाया गुरुङको सम्झनामा टिचिङको सेवा विस्तारका लागि नयाँ भवन बनाइदिएका हुन् । यसअघि २०६८ सालमा पनि गुरुङले १० करोड रुपैयाँ लागतमा सोही अस्पतालको आकस्मिक कक्षको भवन बनाइदिएका थिए ।
‘२०६८ सालमा अस्पताललाई आकस्मिक कक्ष राख्ने भवन आवश्यक हुँदा १० करोड लागतमा बनाइदिएका थियौं,’ उनले भने, ‘अहिले फेरि अस्पताललाई थप सेवा दिन भवन चाहिएको रहेछ, पुनः नयाँ भवन निर्माण गरेर आज हस्तान्तरण गरेका हौं ।’ भाटभटेनीले यस खालको सामाजिक सेवाका काममा सक्रिय हिसाबले सहयोग गर्दै आएको छ ।
उक्त नयाँ भवन शिक्षण अस्पतालको ४३औं वर्ष प्रवेशका अवसरमा सोमबार १४ जुलाईमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भवन उद्घाटन गरे । प्रधानमन्त्री ओलीले भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र सावित्री गुरुङले उक्त अस्पताल भवन भवन निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
‘दानवीर भनेर चिनिएका मीनबहादुरजी, सावित्री गुरुङजीले नेपाली जनताको हितका लागि फेरि अर्को एउटा महत्त्वपूर्ण दान गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सम्पूर्ण नेपाली जनताले स्वास्थ्योपचार प्राप्त गरुन् भनेर गर्नुभएको उहाँहरूको यो निकै राम्रो कामको प्रशंसा गर्छु ।’ प्रधानमन्त्री ओलीले निरोगी नेपालको नारासाथ सरकारले काम गरिरहेको हुँदा सकेसम्म बिरामी नहुने गरी आहार, बिहार, व्यायाम र आराममा ध्यान दिनुपर्ने र बिरामी भइहाले गुणस्तरीय र सुलभ सेवा दिनुपर्ने भनाइ राखे ।

यस्तै कार्यक्रममा भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बिनास्वार्थ देश, जनता र राष्ट्रको सेवामा लाग्ने बताए ।






