- नगेन्द्रराज नेम्बाङ
लन्डन २७ जुलाई २०२५ । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले आउँदो ३१औँ विश्व आदिवासी दिवसको अवसरमा दुई दिने महोत्सव तथा मेला आयोजना गर्ने भएको छ ।
आइतबार पत्रकाट भेटघाटमा नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले अगस्ट ९ शनिबार र १० अगस्ट आइतबार २०२५ मा किरात हाउस, ग्याम्बल्सलेनमा फेस्टिभल फेयर आयोजना गरिने जानकारी दिएका हुन् । उनका अनुसार ९ अगस्टमा भलिबल प्रतियोगिता आयोजना गरिनेछ। जसमा पुरुषतर्फ युथ र भेट्रान समूह तथा महिला टीमबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।
युवा टिमका विजेताले १ हजार ६ सय र उपविजेताले १ हजार पुरस्कार पाउने छन् । भेट्रानतर्फ प्रथमले १ हजार र द्वितीयले ६ सय पाउन्ड पुरस्कार प्राप्त गर्नेछन् ।
महिला टिमका विजेताले १ हजार र उपविजेता ६ सय पाउन्ड पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीले ८ अगस्ट, शुक्रबार साँझ ७ बजेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ ।
यसैगरी १० अगस्टमा धनुषबाण प्रतियोगिता, छेलो खेल, नेपालका चर्चित कलाकारहरूद्वारा सांगीतिक प्रस्तुति र बेलायतमा रहेका जातीय तथा क्षेत्रीय संस्थाहरूको झाँकी प्रदर्शन गरिने अध्यक्ष मेजर राईले जानकारी दिए ।
कार्यक्रममा १ तोला सुन पुरस्कारको लक्की ड्र (लट्री) पनि खेलाइने छ । महोत्सवमा व्यापारीहरूका लागि स्टल राख्ने अवसर दिइने छ । भलिबलको दिन क्याम्पिङको पनि व्यवस्था गरिएको अध्यक्ष मेजर राईले बताए । उनले टाढाबाट आउने सहभागीहरूलाई बास बस्न चाहेमा टेन्ट ल्याएर आउन पनि आग्रह गरे ।
बेलायतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी हुन नेफिन यूकेले निमन्त्रणा गरेको छ ।
संयुक्त राष्ट्र सङ्घले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष दिवस मनाउन थालिएको हो ।







