काठमाण्डौं, बौद्धस्थित सेचन गुम्बाका दोर्जिन निमा लुङ्गरिक रिन्पोछेको बिशेष उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा बीसीसी युकेका प्रमुख लामा खेन्पो छिरिङ्ग, खेन्पो पुर्तेम्बा, लोपेन सोनाम, लोपेन वाङ्गदीले पूजापाठ गरेका थिए । साथै, पूजाको शुरुवातमा, माहायानाका प्रमुख, लुङथेप्पा गुरु द्वारा प्रकासित वाङ चुङ यीङ थीक धर्म पुस्तक, बिसिसि युकेलाई ३१ ठेली प्रदान गरिएको थियो। धर्म गुरु, कार्यसमिति र सहभागी भक्तजनहरुले लुङ्गछेक्पा धार्मिक पेचा (पुस्तक) लाई गुम्बा परिसरभित्र सम्मान स्वरुप, गुम्बालाई ३ पटक परिक्रमा गरी, पुजाकक्षका मुख्यलयमा, अधिष्ठानका साथ सुरुक्षित रखीयो।
सो अवसरमा दोर्जिन रिन्पोछेले बुद्धको चार आर्य सत्य (फोर नोवल ट्रुथ), धर्म चक्र प्रवर्दन बारे प्रवचन दिएका थिए । उक्त प्रवचनलाई खेन्पो पुर्तेम्बाले नेपालीमा अनुवाद गरेका थिए । त्यस्तै, दोर्जिन रिन्पोछे लगायत धर्मगुरुहरुले धर्मचक्र (छोक) पूजा, दिपप्रज्वलन (मर्मे) पाठ, आयु वृद्धि हुने सिद्धि, प्राणिधान (मलम) पाठलगायतका पुजाहरु गरेका थिए ।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पाले धर्म गुरुहरु र उपस्थित भक्तजनहरुलाई स्वागत गर्दै छ्योखोर दुचेनबारे छोटो जानकारी दिएका थिए । त्यस्तै, बीसीसी युकेका पदाधिकारीका साथसाथै आमाहरुले धर्म प्रवचनका लागि मण्डला अर्पण गरेका थिए ।
स्मरण रहोस्, बेलायतमा आफ्नो भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा संवर्दन गर्ने, च्यारिटीमूलक कार्यहरु गर्ने, बौद्ध शिक्षा प्रवर्दन गर्नेलगायतका उद्देश्यका साथ स्थापना भएको बीसीसी युकेले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।







