
लन्डन ३ अगस्ट २०२५ । पाँचथर समाज सेवा युकेको यही अगस्ट ३० तारिखमा हुने १६ औं वार्षिक भेटघाट कार्यक्रममा गायिका निरन्ता नेम्वाङले बेजोड प्रस्तुति दिने भएकी छन् ।
फार्नबोरोस्थित ग्रेन्ज स्कुलमा हुने कार्यक्रममा गायिका निरन्तालाई प्रस्तुति दिन बोलाउने निर्णय गत २७ जुलाईमा बसेको कार्यसमितिको बैठकले गरेको हो । कार्यक्रममा निरन्तासहित स्थानीय कलाकारहरु नेपाल तारा उपविजेता तारा लक्सम, मोडेल/गायिका पारु राईले प्रस्तुति दिने छन् भने मोडेल एवं डान्सर दिपा योङ्या लिम्बु, डान्सर प्रिया लिम्बुले पनि कला देखाउने छन् ।
यस्तै बाल कलाकारहरुको नृत्य प्रदर्शनसहित साँस्कृतिक हुने सांस्कृतिक विभाग प्रमुख तारा लक्समले बताए । उनका अनुसार दर्जनभन्दा बढी पुर्बेली लोकभाकाका गीत र दुई सय जति लिम्बु पालाम रेकर्डिङ गरिसकेकी निरन्ताले युकेमा रहेका दर्जनभन्दा बढी संघ संस्थाहरुमा प्रस्तुति दिइसकेकी छन् ।
वार्षिक भेला तथा सम्मान कार्यक्रममामा बेलायतमा रहेका पाँचथरवासीले शिक्षा, साहित्य, खेलकुद, सामाजिक कार्य, कुनै पनि पेसा/व्यवसायमा वर्षभरिमा प्राप्त उपलब्धिका आधारमा सम्मान गरिने पाँचथर समाज सेवा यूकेकी अध्यक्ष शान्ति लिम्बुले जानकारी दिइन् । यस्तै उत्कृष्ट अंक ल्याएर सफल भएका समाजका विद्यार्थीलाई शैक्षिक सम्मान गरिने छ ।
अध्यक्ष लिम्बुले पाँचथरसँग गाँसिएका सम्पूर्ण नेपाली समुदायलाई एक आपसमा भेटघाट गराएर सम्बन्ध कायम राख्न भेला आयोजनाको मुख्य उद्देश्य रहेको बताइन् । ‘वार्षिक भेला मनाउनुको मुख्य उद्देश्य वार्षिकोत्सव हो । पाँचथरसँग गाँसिएका सम्पूर्ण नेपाली समुदायलाई एक आपसमा भेटघाट गराएर सम्बन्ध कायम राख्न यो भेला प्रत्येक वर्ष गरिन्छ ।’
कार्यक्रमका लागि बेलायतमा रहेका विभिन्न संघ संस्थालाई निमन्त्रणा गरिएको उनले बताइन् । पाँचथरवासी, बेलायतका विभिन्न संघ संस्थासहित सम्पूर्ण नेपालीबीच भेटघाट गरेर शुभकामना आदानप्रदान र भलाकुसारी गराउनकै लागि पाँचथर समाज सेवा यूकेले हरेक वर्ष वार्षिक भेला गर्दै आएको उनको भनाइ छ । अध्यक्ष लिम्बुले भेलामा सबै खालका मान्छे परिवारसहित आउने भएकोले यो पारिवारिक जमघटको अवसर हुने गरेको विश्वास व्यक्त गरिन् ।






