
लन्डन १८ सेप्टेम्बर २०२५ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) र ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत (बीजीएनसीसीसी-यूके) बीच एकता टुंग्याउने निर्णय भएको छ ।
गत शनिबार १३ सेप्टेम्बरमा एम्पायर हल अल्डरसटमा सीएनसीबीजीका अध्यक्ष थर्क रानाको अध्यक्षतामा गोलमेच मिटिङमा दुई संस्थाबीच एकताका लागि वार्ताकार चुन्ने र त्यसबाट मध्यस्थकर्ता चुनेर एकतालाई निष्कर्षमा पुर्याउने छलफल भएको सीएनसीबीजीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले जानकारी दिए । उनले भने, ‘सीएनसीबीजी र बीजीएनसीसीसी-यूकेले एकता वार्ताका लागि तीन, तीनजना वार्ताकारसहित एउटा मध्यस्थकर्ता पठाउने र ती दुई मध्यस्थकर्ताले एकजना स्वतन्त्र मध्यस्थकर्ता चुन्ने, त्यसपछि तीनजनाको मध्यस्थकर्ताहरूले दुवै टिमबाट आएका वार्ताकारसँग छलफल गरी एकता टुंगोमा पुर्याउने निर्णय गरेको छ ।’
सीएनसीबीजी र बीजीएनसीसीसी-यूकेका पदाधिकारीलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित रहेको बैठकमा दुई संस्थाबीच कसरी एकता गर्ने र नेपालको बद्लिँदो राजनीतिक परिस्थितिमा गोर्खाहरूको ‘वंशजको नेपाली नागरिकता निरन्तरता’लाई कसरी तयारी हुने भन्ने विषयमा केन्द्रित रहेको उपाध्यक्ष बुढाथोकीले जनाए ।
बैठक सीएनसीबीजीका अध्यक्ष थर्क राना र आमरण अनशनकर्ता पुष्पा राना घलेले पानसमा दीप प्रज्वलन गरेर आरम्भ गरे । त्यस्तै युद्धमा सहादत प्राप्त गरेका ज्ञातअज्ञात वीरगोर्खा साथै गत २३ भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका निर्दोष तथा अबोध जेनजीहरूको आत्मा शान्तिको निम्ति दीप प्रज्वलन गर्नुका साथै दुई मिनट मौनधारण गरिएको थियो ।
संस्थाका महासचिव भक्त रानाले संचालन गरेको कार्यक्रममा अध्यक्ष थर्क रानाले एसओएसएयू कस्तो संस्था हो ? यो कार्यक्रम गर्नुको उद्देश्य भ्रष्टाचार र बेथितिले थिचिएको नेपालमा अहिले जेजीहरूको आन्दोलनले ल्याएको उथलपुथलपश्चात् नयाँ परिस्थितिमा बेलायतमा भएका गोर्खा जेनजीका समस्यालाई लिएर नयाँ सरकारसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने र सबैबाट सल्लाह र सुझाव मागेका थिए । त्यसपछि संस्थाका सहप्रवक्ता दिर्ग गुरुङले नेपालको इतिहासमा गोर्खाहरूको देन र उनीहरूले खेलेका भूमिकाको विषयमा प्रस्टै पार्दै आफूहरुले किन र के को आधारमा वंशजको नागरिकता माग गरिरहेका छौं भनेर प्रस्ट पारे । उनले अब आउने सरकारले संविधान संशोधन गर्नेमा आशा व्यक्त गर्दै त्यतिबेला आफूहरुको मागलाई घुसाउन सक्नु पर्नेमा जोड दिए । माग सम्बोधनका लागि जेनजीले आफ्नो ज्यान गुमाएर मौका दिएको उल्लेख गर्दै अब सबै हातेमालो गरेर जानुपर्ने आवश्यकता औंल्याए ।
सीएनसीबीजीका आजीवान सदस्य मनबहादुर थापाले एकता गर्नु खुशीको कुरा भन्दै एकता गर्नुअघि सबैभन्दा पहिलो सर्त आर्थिक पारदर्शिता भएको बताए । उनले भने, ‘मैले दुईवटै संस्थालाई पैसा बुझाएको छु । मेरो पैसा कहाँ खर्च भयो मैले सोध्न पाउनु पर्छ तर आज त्यो खोज्ने कुरा भएन । तर एकदिन त्यसको हिसाबकिताब बुझाउनु पर्छ ।
सुझाव दिने क्रममा सबै वक्ताहरूले एकतामा नै बल हुन्छ भन्नेमा जोड दिँदै सीएनसीबीजी र बीजीएनसीसीसीबीच एकता हुनुपर्छ तर एकता भन्दैमा खाली भावनात्मक एकतामात्र नभई इमान्दारी र पारदर्शितासहित संस्थालाई अगाडि बढाउन तयार हुनुपर्नेमा सचेत गराएका थिए । बीजीएनसीसीका महासचिव होम किराँतीले एकताका पहल हुनु सकारात्मक नै रहेको भन्दै आफूले सहमति जनाए ।
त्यस्तै अनशनकर्ता धनबहादुर गुरुङले सीएनसीबीजी र बीजीएनसीसीले नेपालका प्रधानमन्त्रीहरू, मन्त्रीहरू र नेताहरू सबैलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाए पनि कसैले आफूहरुका माग संबोधन गर्नेतर्फ गम्भीरता नदेखाएको बताए । ‘सीएनसीबीजी र बीजीएनसीसीले नेपालका प्रधानमन्त्रीहरू, मन्त्रीहरू र नेताहरू सबैलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझायौं । उनीहरूको खुट्टा ढोग्यौं तर कसैले पनि हाम्रो मागलाई संबोधन गर्नेतर्फ गम्भीरतापूर्वक लिएनन्,’ उनले भने, ‘अब तपाईंहरूले एकता गर्नुस् र संयुक्त रुपमा नेपाल सरकारलाई हाम्रो माग राखी ज्ञापनपत्र बुझाऔं । यदि त्यसले पनि काम गरेन भने हामी सडक आन्दोलनमा उत्रिऔं र धर्ना बसौं । त्यसका लागि हामी सबै तयार हौं ।’
अर्का वक्ता महिला अनशनकर्ता पुष्पा राना घलेले अहिले देश विषम परिस्थितिमा गुज्रिरहेको भन्दै बेलायतबाट खबरदारी गर्नु आवश्यको रहेको बताइन् । ‘हामी नेपाली नागरिक हौं । नागरिकता पाउने हाम्रो अधिकार हो । हाम्रो देशमा विभिन्न राष्ट्रहरूले गिद्धे नजर लगाइसकेका र यूएनले पनि आफ्नो शान्ति सेना उतार्न कोसिस गरिरहेको छ । यस्तो अवस्थामा बेलायतमा रहेका एक लाख पचास हजार गोर्खा र गोर्खाका परिवारको तर्फबाट विज्ञप्ति निकालेर यदि नेपालमाथि कसैले गिद्धे आँखा लगाउँछ भने तिनलाई खबरदारी गर्न सक्नुपर्यो । त्यसरी हामीले नेपाल आमाप्रति कर्तव्य निभाउन सक्यौं भने हाम्रो माग कसले पूरा गर्दैन हेरौं न भन्दै आफ्नो कर्तव्य निभाउन गोर्खा र यहाँ बेलायतमा रहेका जेनजीहरू पछि हट्न हुँदैन ।’
एनआरएनए अन्तर्राष्ट्रिय गोर्खा डिपार्टमेन्टका संयोजक ले.(रि) चन्द्रबहादुर गुरुङले भने,’हामी किन एनआरएनमा गयौं भन्दा हामी एनआरएन भएर गएका होइनौं । हाम्रो माग पनि एनआरएनको प्लेटफर्मबाट स्पष्टसँग राखोस् । किनभने त्यसभन्दा पहिला पनि हामीले हाम्रो माग राखेका थियौं तर त्यहाँ कुनै सुनुवाइ भएको थिएन । हामी कार्यसमितिमा गएपछि यति धेरै कार्यक्रम गर्यौं । सबभन्दा पहिला उनीहरूलाई गोर्खालीहरू त्रिपक्षीय सन्धिबाट आएकोले हाम्रो अवस्था एनआरएनको भन्दा बेग्लै छ भनेर बुझाउने काम गर्यौं । यो त राजनीतिक मुद्दा र राज्यको मुद्दा भएकोले नेपालका सबै राजनैतिक पार्टीहरूले यसलाई सहयोग गर्नु पर्छ ।’
उनले थपे, ‘हामीले हाम्रो मुद्दा एनआरएले उठाउनुपर्छ भनेर त्यहाँ भन्यौं । यदि हाम्रो माग एनआरएनले उठाएन भने हामीले त्यहाँ विद्रोह गर्नेछौँ भनेर गएका हौं । त्यसैले एनआरएमा भए पनि हामी गोर्खा नै हौ । हाम्रो काम भनेको नागरिकताको मागलाई सफल पार्ने हो । हामी जहाँ भए पनि गोर्खाको मुद्दामा एकताबद्ध भएर मद्दत गर्छौं भनेर हामीले अध्यक्षलाई भनेका छौं ।’
मिटिङको उद्देश्य खाली औपचारिकतामात्रूपुरा गर्न नभई सबै गोर्खाहरू कसरी एकजुट भएर गोर्खाहरूको मुद्दालाई उठाउने र आउने सरकारसँग के कसरी प्रस्तुत हुने भन्नेमै केन्द्रित थियो । बेलायतमा रहेका गोर्खा र गोर्खाका जेनजी पुस्ताले नेपाल नागरिकता ऐनको २०६३ को दफा १० को उपदफा १ को कारण ठूलो समस्या र पीडा भोगिरहेका छन् । अहिले गोर्खा र निजका परिवारहरूले भोगेका समस्याहरू अन्तरिम सरकार भए पनि उसले सुन्नुपर्छ, बुझ्नुपर्छ त्यसको समस्याको निराकरण गर्नुपर्छ भन्ने निष्कर्ष भेलाले निकालेको उपाध्यक्ष दलबहादुर बुढाथोकीले जनाए ।
अन्तमा अध्यक्ष रानाले यस्तो महत्वपूर्ण मिटिङमा उपस्थित भएर छलफलमा भाग लिई सकारात्मक एवं रचनात्मक सल्लाह, सुझाव दिई मिटिङ सफल पार्न भूमिका खेल्ने सम्पूर्ण महानुभावहरूमा धन्यवाद दिँदै बैठक समापन गरेका थिए ।






