लन्डन १३ अक्टुबर २०२५ । बेलायतमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी) का पुर्वअध्यक्ष कुल आचार्यको लगानी रहेको ‘होली काउ’ ग्रुप फाइन डाइन रेष्टुरेन्टले ‘वेष्ट रेष्टुरेन्ट’को अवार्ड जितेको छ ।
आइतबार बेलुका रेडिङ सहरमा आयोजित ‘इंग्ल्याण्ड्स अवार्ड्स २०२५’ मा उक्त पुरस्कार घोषणा गरिएको थियो । मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायत आधारमा पुरष्कृत व्यवसायहरुको छनोट गरिएको आयोजकले बताए ।
‘कडा प्रतिस्पर्द्धाबीच यस्तो प्रतिष्ठित अवार्ड पाउँदा हामी अत्यन्तै खुशी छौं’, होली काउ ग्रुपका अध्यक्ष एवं एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले भने ।
सन् १९६५ मा उक्त अवार्डलाई क्विन्स अवार्ड्स फर इन्टरप्राइज भनिन्थ्यो भने सन् २०२२ देखि उक्त अवार्डको नामकरण किंग्स अवार्ड्स फर इन्टरप्राइज गरिएको छ। झन्डै २० वर्ष पहिले स्थापना गरिएको होली काउ समूह अन्तर्गतका रेष्टुरेन्ट तथा टेक अवेहरुमा झन्डै १२० जना कर्मचारी कार्यरत छन् ।






