नेपाल सरकारले तत्काल राजदूत नपठाउने

SHARE:

काठमाडौँ ३० अक्टुबर २०२५ । नेपाल सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तत्काल राजदूत नियुक्त नगर्ने बताए ।

“रिक्त रहेका देशमा राजदूत नियुक्त तत्काल हुँदैन, राजदूतावास रहेका दोस्रो तहका कर्मचारीबाट चलाउन सकिन्छ, सरकार आर्थिक रुपमा मितव्ययी ढङ्गले चल्छ”, मन्त्री खरेलले भने । साथै सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्दै स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वल्ड समिट फर सोसियल डेभलपमेन्ट’ विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा यही कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । साथै आगामी मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै आगामी मङ्सिर ६ देखि १३ गतेसम्म पेरुको लिमामा आयोजना हुने इन्टरनेसनल ट्रिएटी अन प्लान्ट जिनिटी रिसोर्स फर फुट एन्ड एग्रिकल्चर को गभर्निङ बडीको एघारौँ अधिवेशनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मालाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ ।

बैठकले देहायका क्षेत्र/प्रणालीहरुलाई प्रचलित कानुनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको यकिन गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी क्षेत्र तोक्ने निर्णय गरेको छ । जसअनुसार वैदेशिक रोजगार सेवासम्बन्धी, अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापनसम्बन्धी, अध्यागमन सेवासम्बन्धी, बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरुको विवरणसम्बन्धी छन् ।

बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल–युरोपेली सङ्घबीचको संयुक्त आयोगको सोह्रौँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डलको मङ्सिर ९ देखि १५ गतेसममको भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

त्यसैगरी मङ्सिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैङ्ककमा आयोजना हुने छैटौँ टोकियो कन्भेन्सन कमिटी र १९औँ बैङ्कक कन्भेन्सन कमिटीको कार्यक्रममा शिक्षा सचिव चूडामणि पौडेललाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ ।

समरजङ्ग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहनेगरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्री खरेलले बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरिएको छ ।

सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । यसैगरी, छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!