नेपाली प्रवृत्ति नै छ, सकेको विरोध गर्ने । सकुञ्जेल खोइरो खन्ने । नसकेपछि आत्मसमर्पण गर्ने । नेपाली राजनीतिको हरेक यस्तै प्रवृत्तिले गर्दा राम्रो गर्नेहरु पनि उत्तम गर्न सकिरहेका छैन । नराम्रो गर्नेहरुको त कुरै गर्न परेन । एउटा पार्टीमा मात्र होइन, हरेक राजनीतिक पार्टीमा देखिएको यो प्रवृत्तिले आफैभित्रबाट सिध्याउने खेल भइरहेको छ । जसका कारण नेपाली राजनीतिले प्राप्त गरेको सफलता पनि ओझेलमा पर्ने गरेको छ ।
देखिएका दुस्मनसित लड्न सहज हुन्छ नै । आन्तरिक रुपमा रहेका दुस्मनसित लड्न निकै कठिन हुन्छ । सबै राजनीतिक दलबीचमा रहेको आन्तरिक शत्रुता र कटुताले पार्टीलाई अग्रगमनतिर भन्दापनि बहिर्गमनतिर धकेलिरहेको छ । एउटा मात्र पार्टीको कुरा होइन, यो त सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि सबैभन्दा बढी छ । त्यसपछि सधै झगडामा उत्रिरहने कांग्रेसमा स्थायी रोग नै बनिसकेको छ ।
कांग्रेसमा गिरिजाप्रसाद कोइराला रहुञ्जेल शेरबहादुर देउवा स्थायी प्रतिपक्षी बने । अहिले देउवाका प्रतिपक्षी रामचन्द्र पौडेल बनेका छन् । कांग्रेसमा रहेको कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतका गुट उपगुट पनि अर्को स्थायी बन्दै गरेको प्रतिपक्षी हो । त्यस्तै नेकपामा अहिले स्पष्ट दुई धार छँदैछ । पूर्वएमाले र पूर्वमाओवादीको गुट स्पष्टत छँदैछ । त्यसभित्र पनि एमालेभित्र रहेको स्थायी गुटको प्रतिपक्षीयता र माओवादीबीचमा रहेको आन्तरिक गुटबन्दीको चरम पक्षधरताले पार्टी थोत्रो बनेको छ ।
आन्तरिक गुटबन्दीले पार्टीको आन्तरिक जीवनमा त असर पारेकै छ । त्यो असरले देश र जनताको स्वास्थ्यमा समेत गम्भीर आघात पुग्दै आएको छ । पार्टीभित्रको भाँडभैलोले देशलाई अस्वस्थ पारिरहेको छ । देशले भोग्ने दुर्दसा पार्टीको आन्तरिक समस्याले निम्त्याउने कष्ट नै हो । पार्टीभित्रको रोइलोले सधैँ गाँजेकाले पनि आन्तरिक जीवन सधै कष्टकर हुँदै आएको स्पष्ट देखिएको छ । पार्टी बीचमा देखिएको आन्तरिक गुटबन्दीको समस्या समाधान नगरेसम्म पार्टी मात्र नभएर देशलाई ठूलो बर्वादी हुने पक्का छ । त्यसैले पनि पार्टीको आन्तरिक गुटबन्दीको अन्त्य गर्दै साझा पार्टी बनाउने र सामूहिक एजेण्डामा अघि बढ्ने प्रण गर्न जरुरी छ ।