एटा संवाददाता
अल्डरसट । नेपाली समुदाय बेलायतमा क्रियाशील तमुधिं युकेले नयाँ नेतृत्व चयन गर्ने भएको छ । सन् २०१६ सालको नोभेम्बर महिना सम्पन्न अधिवेशनबाट ज्ञाम गुरुङको अध्यक्षतामा गठन भएको नवौं कार्यसमितिको दुई वर्षे कार्यकाल डिसेम्बरको अन्त्यमा सकिँदैछ । तमुहरुको महान् पर्व ल्होछारदेखि दसौं कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरिने भएकोले नयाँ नेतृत्वका लागि आउँदो शनिबार १७ नोभेम्बरका दिन तमुधिं युकेले तमुधिं भवन मिचेटमा साधारणसभा तथा अधिवेशनको आयोजना गरेको छ ।
नयाँ नेतृत्वका लागि तमुधिं युकेले यसअघि नै तमुधिं युकेका सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्वमा नारायण गुरुङ सहसंयोजक र हरि कुमार (काजी) गुरुङ सचिव रहेको निर्वाचन समिति गठन गरिसकेको छ । र, सो निर्वाचन समितिले आफ्नो काम यसअघि नै शुरु गरिसकेको छ ।
बेलायतमा बसोबास गर्ने थुप्रै तमुहरु आवद्ध रहेको तमुधिं युकेका आजीवन सदस्यहरुले मात्र नयाँ नेतृत्वको चयन गर्नेछ । अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ गरी ८ जना पदाधिकारी र विभिन्न विभागीय प्रमुख सहितको २९ सदस्यीय नयाँ कार्यसमितिका लागि अधिवेशन हुन लागेको हो ।
बेलायतको च्यारिटी कमिशनमा समेत दर्ता रहेको तमुधिं युकेको हालसम्म मिनप्रसाद गुरुङ, मेजर डमर घले, मेजर लाल बहादुर गुरुङ, सुवासिं गुरुङ, मुछेत्र गुरुङ, कमल गुरुङ र सुर्जे (रामचन्द्र) गुरुङले अध्यक्षता गरिसकेका छन् भने हाल ज्ञाम गुरुङले नवौं कार्यसमितिको अध्यक्षता गरिरहेका छन् । उनको यसै वर्षको ल्होछारबाट कार्यकाल पूरा हुँदैछ ।
तमुधिं युकेको नौं पटक नेतृत्व चयन गर्दा एकपटक अध्यक्ष पदका लागि निर्वाचन भएको छ भने आठ पटक निर्विरोध निर्वाचित भएको इतिहास छ । तर, यसपटक निर्विरोध हुन्छ वा हुँदैन १६ नोभेम्बरका दिनमा मात्र जानकारी हुने संयोजक गुरुङ बताउँछन् । तमुुधिं युकेको विधानले दुई कार्यकाल कार्यसमितिमा बस्न पाउने व्यवस्था गरेतापनि आफूले नदोर्याउने वर्तमान अध्यक्ष ज्ञाम गुरुङ बताउँछन् । उनले ‘कार्यसमितिमा बस्नु भनेको स्वयमसेवकको रुपमा काम गर्नु हो । कार्यसमितिमा बसेर संस्थाको हितमा काम गर्नु सबैको दायित्व पनि हो र त्यसैले सक्रिय, अनुभवी, नयाँ सोच भएका र संस्थालाई समय दिन सक्ने इच्छुक जुझारु साथीहरु नेतृत्वमा जानु पर्दछ’ भने ।
तमुधिं युके आफ्नो भाषा, कला र संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ सन् २००० मा स्थापना भएको हो । स्थापना कालदेखि नै सामाजिक र परोपकारी कार्यहरुमा संलग्न हुँदै आएको तमुधिं युकेले आफ्नो पहिचानलाई जीवन्त राख्न तमुहरुको मौलिक पर्व ल्होछारलाई स्थापना कालदेखि नै मनाउँदै आएको छ । त्यसैगरी सन् २००३ सालदेखि गोर्खा कप फुटबल प्रतियोगिता, सन् २००९ सालदेखि नेपाली मेला र सन् २०१३ सालदेखि प्रत्येक बर्ष लाईफ मेम्बर डिनर नाईटलगायत थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
तमुधिं युके जातीय संस्था भएतापनि थुप्रै परोपकारी कामहरु गर्दै आएको छ । सन् २००४ सालमा ईराकमा मारिएका १२ जना नेपालीको आश्रित परिवारलाई गरेको आर्थिक सहयोगदेखि पोखरा रंगशालाको प्रवेशद्धार निर्माण, २०७२ सालको महाभूकम्पबाट पीडितहरुको सहयोगार्थ एक करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोग, सप्तरीका बाढीपीडितहरुलाई १० लाख रुपैयाँ सहयोग गरिसकिएको छ । त्यस्तै, हालै भूकम्पबाट क्षतिग्रस्त धादिङ्गको खादिङ्गस्थित हिमालय सरस्वती प्राथमिक विद्यालयको करीब ५० लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण सम्पन्न गरिसकिएको छ । त्यस्तै, स्थानीय बेलायत र नेपालका विभिन्न क्षेत्रमा समेत आपूmले सकेको सहयोगहरु गर्दै आएको छ ।
नेपाली समुदाय बेलायतमा सक्रिय नेपाली संघसंस्थाहरुमध्ये आफ्नो छुट्टै पहिचान बनाउन सफल तमुधिं युकेको नयाँ नेतृत्व कस्ले गर्छ भन्ने बारेमा चर्चा हुनु स्वभाविकै हो । नयाँ नेतृत्वका लागि तमुधिं युकेका पूर्व अध्यक्षहरु, आजीवन सदस्य, सल्लाहकार र शुभचिन्तकहरुबीच एकअर्कामा सरसल्लाह भइरहेको तमुधिं युकेका एकजना शुभचिन्तक बताउँछन् ।
तमुधिं युकेको साधारणसभा तथा अधिवेशनका लागि आवश्यक तयारी भइरहेको वर्तमान महासचिव कृष्ण गुरुङले जानकारी गराए । उनले नयाँ नेतृत्वका लागि निर्वाचन समितिले आफ्नो काम थालिसकेको छ भने अरु तयारी लगभग पूरा भएको बताए । साथै, उनले बिहान आउँदो १७ नोभेम्बरका दिन बिहान ११ बजेबाट साधारणसभा शुरु हुने भएको हुँदा समयमा नै उपस्थित भइदिनहुनका लागि सदस्यहरुलाई अनुरोध गरे ।