लन्डन । बेलायत तथा नेपालका सरकारी अधिकारीहरुले राजनीतिक स्थायित्वसँगै नेपालमा लगानी गर्न अब उपयुक्त समय आएको धारणा राखेका छन् ।

लन्डनस्थित नेपाली दूतावासमा ‘नेपाल विकास सम्मेलन ४’ का विभिन्न वक्ताहरुले नेपालमा व्यापार तथा लगानीका सम्भावनाबारे प्रिजेन्टेसनसमेत दिए । नेपालमा विशेषगरी हाइड्रो, शिक्षा स्वास्थ्य, पर्यटन एवं भौतिक पूर्वाधारमा लगानी उपयुक्त रहेको वक्ताहरुले जोड दिएका थिए ।
नेपाली दूतावास र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शद्वारा संयुक्त रुपमा मंगलबार साँझ आयोजना गरेको सम्मेलनमा परराष्ट्र सचिव शंकरदास बैरागीले नेपालको शान्ति प्रक्रिया र भूकम्पपछिको पुनर्निर्माणमा ब्रिटेन र ब्रिटिस जनताले पुर्याएको सहयोगको प्रशंसा गरे । उनले नेपालका सबै राजनीतिक दलहरु देशमा व्यापार र लगानीका लागि राम्रो वातावरण बनाउन प्रतिवद्ध रहेको बताउंदै भारत र चीनजस्ता दुई ठूला मुलुकहरुबीच रहेको नेपाल लगानीकालागि उपयुक्त स्थल रहेको धारणा राखे ।
ब्रिटिस संसदको अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका उपाध्यक्ष लर्ड शेखले चीन तथा भारतसंग जोडिएको नेपालमा दीर्घकालिन लगानीका थुप्रै अवसर रहेको बताए । उनले जलविद्युत, सडक, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा धेरै ब्रिटिश
कम्पनीहरुले लगानी गरुन् भन्ने आफूले चाहेको पनि उल्लेख गरे । अर्का वक्ता लर्ड अर्ल अफ स्यान्डवीचले नेपालमा स्थिर अर्थतन्त्र सहितको सामाजिक सुधार आवश्यक रहेको औंल्याए । उनले काठमाडौंस्थित द ब्रिटिश कलेज नेपालमा ब्रिटिश लगानीको एउटा सफल उदाहरण रहेको पनि उल्लेख गरे ।
नेपालका लागि ब्रिटिस राजदूत रिचार्ड मोरिसले नेपालको आर्थिक विकासमा सघाउन ब्रिटेन सधैं तत्पर रहेको बताए । उनले ब्रिटेनले नेपालको लगानी बोर्डलाई सघाउनुका साथै अरुण तेश्रो जलविद्युत योजनाकालागि रकम जुटाउन पनि सघाइरहेको जानकारी दिए। उनले ब्रिटेन इयूबाट बाहिरिएपछि पनि नेपालसंगको व्यापारमा कुनै असर नपर्ने बताउंदै आफूहरुले समृद्ध नेपाल हेर्न चाहेको जनाए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपाल कुटनीतिक सम्वन्ध र नेपालको राजनीतिक घट्नाक्रमबारे चर्चा गर्दै ब्रिटिश लगानीकर्ताहरुलाई स्वागत गर्न आफ्नो सरकार उत्सुक रहेको बताए ।
त्यस्तै नेपालमा वैदेशिक लगानीका सम्भावना विषयमा प्रस्तुति दिंदै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष तथा द ब्रिटिश कलेजका सञ्चालक राजन कंडेलले नेपाल विदेशी लगानीकालागि खुला र तयार रहेको बताए । कार्यक्रमको अन्त्यमा नेपाली मौलिक नृत्यहरु पनि प्रस्तुत गरिएका थिए ।






