
लन्डन २९ जनवरी २०२६ । पासा पुचः गुथि यूकेले आउँदो १९ अप्रिलमा तेस्रो लन्डन बिस्का जात्रा मनाउने भएको छ ।
डाटफोर्डस्थित ओपन एयर थिएटर सेन्ट्रल पार्कमा बिस्का जात्रा मनाउने तय भएको जात्रा संयोजकको जिम्मा पाएका पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन अध्यक्ष सुरोज मास्केले जानकारी दिए । उनका अनुसार जात्रामा भैरव र भद्रकालीको रथ तान्ने र योसिंद्यो (लिंगो) उठाइने छ । यसपटक मुख्य आकर्षणमा पहिलोपटक मध्यपुरको मौलिक सिन्दुर जात्रा पनि गरिने पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापतिले जानकारी दिए ।
अध्यक्ष प्रजापतिले दिउसो १२ देखि सांझ ६ बजेसम्म सञ्चालन हुने जात्रामा भैरवको रथ परिक्रमा, खः जात्रा, विभिन्न खाना स्टल, नेपाली सामानका व्यापारिक स्टलहरु, विविध सांस्कृतिक कार्यक्रमसंगै दिनभर सांस्कृतिक मनोरञ्जन हुने जनाए । उनले विगत जस्तै यस संस्करणमा समेत सहभागी भएर कार्यक्रम सफल बनाइदिन सबैमा निमन्त्रणा एवं अपिल गरेका छन् । सिन्दुर जात्राका लागि गुथिका चारवटै शाखाले एक एक वटा खः (कांधमा बोक्ने रथ) ल्याउने भएका छन् ।
ती शाखाहरुले धिमे, ढाः, खीं र बांसुरी बाजाको टोली पनि ल्याउने तय भएको छ । आयोजकका अनुसार, जात्रामा यूकेका विभिन्न ठाउँका १० वटा मौलिक नेवारी बाजा समूहले समेत भाग लिनेछन् । आयोजकले जात्राका लागि नेपालबाट पनि केही विशेष अतिथी निम्त्याउने जनाएका छन् । जात्रा हेर्न दुई हजार बढी दर्शकको सहभागिता अपेक्षा गरिएको छ ।
बिस्का जात्रा तयारी सम्बन्धमा छलफल गर्न यही शनिबार बैठक बस्ने आयोजकले जनाएका छन् ।






