किरात याक्थुङ चुम्लुङ यूकेको कल्याणकारी च्यारिटी डिनर भव्यतापूर्वक सम्पन्न

SHARE:

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको कल्याणकारी च्यारिटी डिनर भव्यतापूर्वक सम्पन्न भएको छ ।

गत ७ फेब्रुअरी २०२६ मा अल्डरसटको द प्यालेस भवनमा संस्थाका केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास लण्डनका कार्यवाहक राजदूत विपिन दुवाडी थिए ।

कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर रिटायर्ड योगेश राईलगायत विभिन्न संस्थाका प्रतिनिधिहरू, संस्थाका सम्मानित व्यक्तिहरू, शाखा अध्यक्षहरू र हाल बेलायत भ्रमणमा रहेका राष्ट्रिय कलाकारहरूको उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव महेशकुमार वनेमले संचालन गरेको औपचारिक कार्यक्रममा संस्थाका उपाध्यक्ष (संयोजक) सन्त हुक्पाचोङ्बाङ्ले सम्पूर्ण आमन्त्रित पाहुनाहरु तथा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गरेका थिए ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले लिम्बु समुदायका अग्रज युगपुरुषहरूको योगदानको प्रशंसा गरे । उनले नेपाली समाजमा रहेका रीतिरिवाज, संस्कार र संस्कृतिलाई जोगाउनु नै हाम्रो पहिचान जोगाउनु हो भन्ने सन्देश दिँदै आमन्त्रणको लागि धन्यवाद व्यक्त गरे र शुभकामना दिए ।

नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर रिटायर्ड योगेश राईले महासंघको बारेमा संक्षिप्त जानकारी दिँदै किरात याक्थुङ चुम्लुङ यूके पनि महासंघको एक अभिन्न अंग रहेको जनाए । उनले नेपालको वर्तमान अवस्थाको बारेमा आफ्नो धारणा राखे र यस च्यारिटी डिनरको उद्देश्य प्राप्तिको लागि शुभकामना व्यक्त गरे ।

राजदूत दुवाडीले बेलायतमा रहेका नेपाली समुदायको कल्याणको लागि दूतावासले गरेका प्रयासबारे बताउँदै यस देशमा रहेका सम्पूर्ण संघसंस्थाहरूले पनि सकारात्मक सहयोग गर्नुपर्ने बताए । उनले वर्तमान अवस्थामा नेपाली समाजले भोग्नु परेको अप्ठ्यारो अवस्था, दूतावासले निभाएको भूमिका, सहयोग र बेलायती सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरूको माग चरणबद्ध सम्बोधन गर्न नेपाल सरकारबाट बेलायत सरकारप्रति स्पष्ट धारणा राखिएको र यो मुद्दा समाधानको अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले किरात याक्थुङ चुम्लुङ यूकेले यस कल्याणकारी कार्यका लागि आमन्त्रण गरेकोमा संस्थाका अध्यक्षलगायत सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिए ।

औपचारिक कार्यक्रमको अन्त्यमा संस्थाका केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुले च्यारिटी डिनरमा प्रमुख अतिथि राजदूत दुवाडी, विभिन्न संघसंस्थाका प्रतिनिधि, कल्याणकारी कोषका लागि संस्थागत र व्यक्तिगत रूपमा सहयोग गर्ने महानुभावहरू, र कार्यक्रममा उपस्थित सबै तहका मान्यवरहरूलाई धन्यवाद व्यक्त गरिन् ।

च्यारिटी डिनरको उद्देश्य केवल कोष संकलन मात्र नभएर संस्थाको कार्यक्षेत्र र आवश्यकताबारेमा सार्वजनिक जानकारी र चेतना फैलाउनु, दाता, समर्थक र हितधारकहरूलाई एकत्रित गरी संस्थाप्रतिको भरपर्दो सम्बन्ध बलियो बनाउनु, समान विचारधारा भएका व्यक्ति, संस्था र सम्भावित सहयोगीहरूबीच साझेदारी र सहयोगको अवसर सिर्जना गर्नु, समाजका कमजोर वर्गप्रति सहयोगको संस्कारलाई प्रोत्साहन गर्ने र सामुदायिक भावना कायम गर्नु रहेको बताइन् ।

उनले च्यारिटी डिनरलाई सफल बनाउन महत्वपूर्ण भूमिका निभाउने संयोजक, सह-संयोजक, सम्पूर्ण टोली, राष्ट्रिय कलाकारहरू, बेगपाइपर, च्याब्रुङ समूह र स्थानीय कलाकारहरूलाई विशेष धन्यवाद दिँदै निरन्तरको सहयोगको अपेक्षा राखेर सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै औपचारिक कार्यक्रम समापन गरिन् ।

औपचारिक कार्यक्रम पश्चात् सांस्कृतिक कार्यक्रम उपाध्यक्ष सानु सुब्बा र सचिव सकुन नेम्बाङले संचालन गरे, जसमा च्याब्रुङ नाच, धान नाच, नेपाली गीतसंगीत र नृत्य प्रस्तुत गरियो । अन्तिममा महासचिव महेश वनेमले अक्सन (निलामी)ले कार्यक्रम संचालन गरे । उनले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याने र निलामीमा सहभागी हुने सम्पूर्ण व्यक्ति र संस्थाहरूलाई धन्यवाद व्यक्त गरेको किरात याक्थुङ चुम्लुङ यूकेका मिडिया संयोजक नर थाम्सुहाङले जानकारी गराएका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!