राजनीतिमा हितबहादुर तामाङको ४६ वर्ष : नुवाकोट–१ मा बलियो उपस्थिति [यस्तो छ जीवनी]

SHARE:

साढे ४ दशकभन्दा बढी समयदेखि वामपन्थी राजनीतिमा सक्रिय नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङ नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार हुनुहुन्छ । बीसभन्दा बढी घटक एकीकृत भएर बनेको नेकपाबाट सर्वसम्मत सिफारिस हुनु सामान्य राजनीतिक घटना होइन। यो निर्णय नुवाकोटको जनभावना, विगतको राजनीतिक अनुभव र भविष्यको आवश्यकतासँग गहिरो रूपमा जोडिएको छ ।

नेकपा नुवाकोट १ मा सर्वसम्मत उम्मेदवार छनोट पार्टीभित्रको एकता र जनआधारको मजबुती देखाएको छ । हितबहादुर तामाङ कुनै आकस्मिक रूपमा उदाउनु भएको नेता हुनुहुन्न । उहाँ लामो समयदेखि नुवाकोटको राजनीतिक संघर्ष, परिवर्तन र जनआन्दोलनका प्रत्यक्ष साक्षी तथा सहभागी हुँदै आउनुभएको छ

नुवाकोट पञ्चकन्या गाउँपालिका–३ घलेभन्ज्याङ (भन्ज्याङघर)मा जन्मिएका तामाङको जीवन आफैंमा एउटा राजनीतिक पाठशाला हो । ग्रामीण परिवेश, संघर्षशील जीवन र जनताको दुःख–सुखसँगै हुर्किएको अनुभवले उहाँलाई जमिनसँग जोडिएको नेता बनाएको छ ।

तामाङ नुवाकोट–१ बाट लगातार दुई पटक निर्वाचित हुनु संयोग मात्र होइन । २०७४ सालमा कांग्रेसका प्रभावशाली नेता रामशरण महतलाई पराजित गर्नु राजनीतिक रूपमा ठूलो सन्देश थियो । २०७९ मा एमालेका उम्मेदवार बद्री मैनालीलाई हराउनु जनताको निरन्तर विश्वासको प्रमाण हो । यी दुवै जितले नुवाकोट–१ मा हितबहादुर तामाङको राजनीतिक स्वीकार्यता कति गहिरो छ भन्ने स्पष्ट गर्छ । उहाँ चुनाव जित्ने मात्र होइन, जनप्रतिनिधिको जिम्मेवारी निभाउने नेता हुनुहुन्छ।

मन्त्रीको रूपमा छोटो अवधि भए पनि उहाँले युवाहरू, खेलकुद र सांस्कृतिक पहिचानलाई प्राथमिकतामा राख्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्दा उहाँले स्थानीय पहिचान र पर्यटन सम्भावनालाई जोड दिनुभयो । राजनीतिमा अवसरभन्दा दायित्वलाई अघि राख्ने उहाँको शैली प्रशंसनीय छ ।

आदिवासी जनजाति, सीमान्तकृत र उत्पीडित समुदायको आवाज संसद्‍मा पुर्‍याउने भूमिकामा उहाँ अग्रपंक्तिमा हुनुहुन्छ । वर्गीय र जातीय मुक्तिको सवाललाई नारा होइन, नीति र व्यवहारमा उतार्ने नेताको रूपमा उहाँ परिचित हुनुहुन्छ ।

नुवाकोट जस्तो बहुजातीय समाजमा समावेशी नेतृत्वको आवश्यकता झन् बढ्दो छ । हितबहादुर तामाङको उम्मेदवारी त्यसैको उत्तर हो । उहाँले राजनीति सत्ताका लागि होइन, परिवर्तनका लागि गरेको देखिन्छ । उहाँको राजनीतिक यात्रामा जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्रको उतार–चढाव समेटिएको छ । त्यसैले उहाँ अनुभवहीन प्रयोग होइन, परीक्षित विकल्प हुनुहुन्छ ।

आज नुवाकोट–१ ले केवल सांसद होइन, दूरदृष्टि भएको प्रतिनिधि खोजिरहेको छ । स्थानीय विकास, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका सवाल अझै समाधानको पर्खाइमा छन् । यी सबै चुनौती बुझ्ने र राज्यसँग जुध्न सक्ने क्षमता तामाङमा छ । उहाँले संसदलाई नुवाकोटको आवाज बनाउने साहस राख्नु हुन्छ । विवादभन्दा सहमति, व्यक्तिगत लाभभन्दा सामूहिक हितलाई प्राथमिकता दिने उहाँको चरित्रले यो सम्भव भएको हो ।

राजनीतिमा यस्तो स्वीकार्यता सजिलै प्राप्त हुँदैन । यो विश्वास निरन्तर कर्मबाट मात्रै कमाइन्छ । आगामी निर्वाचन केवल व्यक्तिको जित–हारको प्रश्न होइन । यो नुवाकोट–१ को भविष्यको दिशा तय गर्ने क्षण हो । त्यस अर्थमा हितबहादुर तामाङको उम्मेदवारी निरन्तरताको मात्र होइन, परिपक्वताको प्रतीक हो । उहाँ विगतको अनुभव, वर्तमानको आवश्यकता र भविष्यको सम्भावनालाई जोड्ने सेतु हुनुहुन्छ ।

तथ्य र तथ्यांकमा हितबहादुर तामाङको राजनीतिकयात्रा

हितबहादुर तामाङ २०७४ र २०७९ मा नुवाकोट १ बाट भारी मतले विजयी बन्नुभएको थियो । तामाङ पार्टीभित्र इमान्दार, कुशल संगठक र सालिन नेताका रुपमा परिचित हुनुहुन्छ । राज्यका उच्च ओहोदामा पुग्दासमेत जनता (मतदाता)सँग सहज पहुँच राख्ने र सरल शैलीका तामाङ स्पष्ट वक्ता पनि । जे सकिन्छ खुरु खुरु गर्ने, आश्वासन र विपक्षीलाई बिझाउने वचन लगाउन नचाहने व्यवहारले पनि उहाँ जिल्लामा जनप्रिय नेता बन्नुभएको निकटस्थहरु बताउँछन् । २०६३ सालमा अन्तरिम व्यवस्थापिका सांसद, २०६६ सालमा युवा तथा खेलकुदमन्त्री,२०८० सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभयो ।

हितबहादुर तामाङ नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर वडा)मा मध्यम वर्गीय किसान परिवारमा २०२० सालमा जन्मिनुभएको हो, निवर्तमान सांसद तामाङ । बुबा माइते तामाङ र आमा श्रीमाया तामाङको माइलो सन्तान हितबहादुर । उहाँका जेठो दाइ जीतबहादुर, कान्छा भाइ वीरबहादुर अनि तीन दिदीबहिनी । उहाँको बाल्यावस्था गाउँमै मेलापात, गोठालाका रुपमा बित्यो थियो । २ छोरी र १ छोराका पिता हितबहादुर हाल काठमाडौंको चण्डोलमा डेरामा सपरिवार बस्दै आउनुभएको छ । दाइभाइ सामान्य किसानी कर्ममा रहनु भए पनि हितबहादुर देशमा केही गरौं भन्ने भावनाले सानैदेखि सामाजिक काम र राजनीतिक गतिविधिमा अग्रसर हुनुभयो ।

तामाङले नुवाकोटकै अमर ज्योति उच्च माध्यमिक विद्यालय खरानीटारमा औपचारिक शिक्षा सुरुवात गर्नुभएको हो । सोही विद्यालयबाट वि‌.सं. २०३९ सालमा प्रवेशिका (एसएलसी) उत्तीर्ण गर्नुभयो । एसलसीलगत्तै ०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष अध्यापन गराउनुभएको थियो ।

पूर्वमन्त्री तामाङ २०३६ सालमा १६ वर्षको कलिलो उमेरमै मार्क्सवाद, लेनिनवाद, माओवादको दर्शनबाट प्रभावित भई कम्युनिष्ट राजनीतिमा लाग्नुभएको हो । २०३६ सालमा अनेरास्ववियुको छैटौं जिल्ला सम्मेलनबाट सदस्य बन्नुभएका उहाँले २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव पदको जिम्मेवारी पाउनुभयो । भ्रातृ संगठनहरुमा सक्रिय रहँदै गर्दा उहाँले ०४७ सालमा मात्रै नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता लिनुभयो । ०४८ मा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष, ५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी), २०५८ सालमा नुवाकोट जिल्लाको जनसरकार प्रमुख, २०६० साल माघ १ गते ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख बन्नुभयो । २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य पनि बन्नुभयो उहाँ ।

२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि उहाँ भूमिगत हुनुभएको थियो । भूमिगतकालमा ०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गर्नुभयो । खुला राजनीतिमा होस् वा युद्धकालीन कठिन दिनमा उहाँको नेतृत्वदायी भूमिकाका कारण २०५९ सालमा उहाँलाई पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी सुम्पियो । त्यसको अर्को वर्ष अर्थात् २०६० साल जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले गिरफ्तार गरी पटनास्थित जेलमा राख्यो । जब नेकपा माओवादी शान्ति प्रक्रियामा आयो, त्यसपछि २५ महिनाको जेलजीवनमुक्त हुनुभयो उहाँ ।

तामाङ समुदायभित्र आफूलाई अब्बल साबित गर्नुभएका पूर्वमन्त्री तामाङ माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापक । नुवाकोटमा वामपन्थी आन्दोलनका अगुवा हुनुका साथै वर्गीय र जातीय आन्दोलनका अथक् योद्धा तामाङ ।

नुवाकोट–१ का मतदाताले फेरि एकपटक अनुभवी, प्रतिबद्ध र जनमुखी नेतृत्व रोज्ने संकेत देखिएको छ। राजनीतिमा विश्वास गुम्दै गएको बेला यस्तो नेतृत्व अत्यन्त आवश्यक छ। हितबहादुर तामाङको उम्मेदवारीले त्यो भरोसा पुनः जगाएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!