तमु धीं यूकेद्वारा सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान

SHARE:

लन्डन १९ फेब्रुअरी २०२६ । तमु धीं यूकेले टेनिसकी उदीयमान खेलाडी सिभाली गुरुङ र तेक्वान्दो खेलाडी रेखमाया गुरुङलाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार २०२५’ प्रदान गरेको छ ।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको बुधबार १८ फेब्रुअरीमा पोखरामा आयोजित २५ औं वार्षिकोत्सवका अवसरमा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङलगायतले खेलाडीद्वयलाई नगद राशि, प्रमाणपत्रलगायतबाट सम्मान गरेका हुन् ।

तमु धीं यूकेले तेक्वान्दो खेलाडी रेखमाया र सिभालीलाई ‘तमु प्रतिभा पुरस्कार २०२५’बाट सम्मान गर्ने घोषणा गत २७ डिसेम्बर २०२५ मा अल्डरसटमा आयोजित ल्होछार कार्यक्रममा गरेको थियो । तेक्वान्दो क्षेत्रमा लामो समयदेखि सक्रिय रेखमाया गण्डकी प्रदेश खेलकुद परिषद्की सदस्य समेत हुन् । उनी हाल पोखरामा एब्सोल्युट तेक्वान्दो सञ्चालन गर्दै खेलाडी उत्पादनमा योगदान दिइरहेकी छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी रेखमायालाई तेक्वान्दो क्षेत्रमा निरन्तर योगदान पुर्‍याएको कदरस्वरूप यो सम्मान प्रदान गरिएको तमु धीं यूकेले जनाएको छ ।

त्यसैगरी, १४ वर्षीया टेनिस खेलाडी शिभाली नेपाली टेनिसकी उदीयमान प्रतिभा हुन् । कम उमेरमै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धासँगै नेपाली टेनिसमा उनले लगातार प्राप्त गरेको उपलब्धिलाई उच्च मूल्याङ्कन गर्दै तमु धीं यूकेले सम्मान गर्ने निर्णय गरेको जनाएको छ ।

तमु धीं यूकेले नेपाली खेलकुद, कला र संस्कृतिमा योगदान पुर्‍याउने प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित पुरस्कार गत वर्ष राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ (धादिङ) र प्यारा ग्लाइडर युकेश गुरुङ (कास्की)लाई प्रदान गरेको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!