लन्डन १९ फेब्रुअरी २०२६ । बेलायतका पूवै राजकुमार एन्ड्रयु माउन्टबेटन–विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । एन्ड्रयु माउन्टबेटन बेलायतका राजा चाल्र्सका भाइ तथा पूर्व राजकुमार हुनुहुन्छ ।
थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी साझा गरेको आरोपमा पूर्व राजकुमारको उजुरीको अनुसन्धान गरिरहेको बताएपछि उहाँलाई पक्राउ गरिएको हो । एन्ड्रयुले लगातार दृढताका साथ आफुले कुनै पनि गलत कार्य नगरेको बताउँदै आउनुभएको छ । उहाँको राजकुमार उपाधि गत वर्ष गुमेको थियो भने उपाधिकोृ अन्त्यसँगै उहाँले रोयल लज, प्यालेस अफ विन्डसर पनि छोड्नुपरेको थियो ।
उहाँलाई प्रहरीले कहाँबाट पक्राउ गर्यो भन्ने खुल्न सकेको छैन, तर आज बिहान नोरफोकको स्यान्ड्रिङ्घममा केही नौला सवारी साधनहरू देखिएका थिए । उहाँले विन्डसरमा आफ्नो घर छोडेपछि स्यान्ड्रिङ्घममा बस्दैआउनुभएको थियो । तिनीहरू प्रहरीले प्रयोग गरेका प्रहरीको सङ्केत नभएका सवारी साधन भएको विश्वास गरिएको छ। पूर्व राजकुमार पक्राउ परेको यो पहिलो पटक हो ।
उहाँमाथि दोषी यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध राखेको आरोप लगाइएको छ। बिबिसीको रिपोर्टका अनुसार उहाँलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको हो ।


