एटा संवाददाता
फार्नबोरो । नेपालीहरुको बाक्लो बसोबास रहेको रसमुर बरो काउन्सिल क्षेत्रका नेपाली समुदायका समाजसेवीहरु ‘रसमुर भोलिन्टियर सर्भिसेस्’ अवार्डबाट सम्मानित भएका छन् । उनीहरु १४ नोभेम्बरका दिन रसमुर बरो काउन्सिलको सभाकक्षमा सो अवार्डबाट सम्मानित भएका हुन् । विभिन्न संघसंस्थामा रहेर स्वंयसेवा गरेवापत उनीहरुलाई सम्मान गरिएको हो ।
सो समारोहमा तमुधिं युकेका सल्लाहकार पूर्व प्र.अ.एकेन्द्र गुरुङ, तमुधिं युकेका सल्लाहकार अध्यक्ष जुमकाजी गुरुङ, तमुधिं युकेका वर्तमान महासचिव कृष्णप्रसाद गुरुङ, ग्रेटर रसमुर नेप्लिज कम्युनिटी (जीआरएनसी) का अध्यक्ष जीव बेल्वासे, महासचिव मान गुरुङ, कोषाध्यक्ष तोप पल्ली र सल्लाहकार पदम राई सम्मानित भएका हुन् । त्यस्तै, गोर्खा जिल्ला गुरुङ समाज युकेका कोषाध्यक्ष दिनेश गुरुङ र सल्लाहकार बिरबहादुर गुरुङ सम्मानित भएका छन् भने एशियन महिला एशोसियन (आमा) की पूर्व अध्यक्ष माया डंगोल केसी र महासचिव कल्पना गुरुङ सम्मानित भइन् । त्यसैगरी मद्दत समूहका क्याप्टेन बीरबहादुर थापा, क्याप्टेन बिष्णु श्रेष्ठ, गोर्खा चौतारीका दानबहादुर गुरुङ, किरात राई यायोख्याका रत्न राई पनि सम्मानित भए । कार्यक्रममा रसमुर बरो काउन्सिलका मेयर स्टीभ मास्टरसनले उनीहरुलाई प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा तमुधिं युकेका महासचिव कृष्णप्रसाद गुरुङले स्वंयसेवकहरुको तर्फबाट तमुधिं युकेले आयोजना गर्दै आएको गोर्खा कपलगायत सामाजिक तथा परोपकारी कार्यहरुको बारेमा बोलेका थिए ।
विभिन्न समाजमा रहेर समुदायको हितमा बिशेष योगदान दिएका स्वंयसेवकहरुलाई प्रत्येक बर्ष रसमुर बरो काउन्सिल तथा रसमुर भोलिन्टियर सर्भिसेस्ले संयुक्त रुपमा ‘रसमुर भोलिन्टियर सर्भिसेस्’ अवार्डद्वारा सम्मान गर्दै आएको छ ।






