बेलायत, २२ फेब्रुअरी २०२६ – मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले ४४औँ मगर दिवस भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको अवसरमा सबैप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको छ।
शनिबार, २१ फेब्रुअरी २०२६ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुनले संघका पूर्वअध्यक्षहरू, संरक्षकहरू, ट्रस्टी, सल्लाहकारहरू, अग्रज व्यक्तित्वहरू तथा केन्द्र एवं शाखाका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिनुभएको हो।
अध्यक्ष पुनका अनुसार यस वर्षको मगर दिवसमा सबै शाखाहरूबाट अभूतपूर्व सहभागिता जुटेको थियो। हजार जनाको ऐतिहासिक उपस्थिति, उत्साहपूर्ण वातावरण र उत्कृष्ट व्यवस्थापनका कारण यो दिवस अत्यन्तै गौरवपूर्ण ढंगले सम्पन्न भएको उहाँले बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथिद्वारा प्रदान गरिएको सम्मानले मगर संघ युकेका सदस्यहरूले पुर्याएको योगदानको कदर भएको र यसले आगामी दिनमा थप प्रेरणा मिल्ने विश्वास उहाँले व्यक्त गर्नु भएको छ ।
त्यसैगरी, संघका विभिन्न शाखा तथा भगिनी संस्थाहरूद्वारा प्रस्तुत गरिएका मौलिक झाँकी र सांस्कृतिक कार्यक्रम दिवसको मुख्य आकर्षण बनेको उहाँको भनाइ थियो। मगर समुदायको गौरव, एकता र पहिचानलाई उच्च राख्न यस्ता प्रस्तुतिले महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष पुनले उल्लेख गर्नुभएको छ ।
अध्यक्ष पुनले कार्यक्रमलाई भव्य, अनुशासित र सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने अग्रपंक्तिका सदस्यहरू तथा सहयोगी हातहरूप्रति विशेष धन्यवाद, आभार तथा कृतज्ञता प्रकट गरेका छन् ।
“आ-आफ्नो भूमिका र जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै यस ऐतिहासिक यात्रामा योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूमा म पुनः हार्दिक आभार व्यक्त गर्दछु,” अध्यक्ष पुनले भन्नु भएको छ ।






