बेलायतमा दुई नेपाली उत्तरबहादुर गुरुङ र डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार

SHARE:

लन्डन २६ फेब्रुअरी २०२६ । बेलायतमा दुई नेपाली उत्तरबहादुर गुरुङ र डा. विशाल गुरुङ काउन्सिलर उम्मेदवार बनेका छन् ।

आउँदो मे ७ मा हुने स्थानीय निर्वाचनमा सत्तारुढ पार्टी लेबरका तर्फबाट भूतपूर्व ब्रिटिस गोर्खा ६६ वर्षीय उत्तरबहादुर गुरुङ र कन्जरभेटिभ पार्टीबाट डा.विशाल गुरुङ बेलायतको अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका हुन् ।

लेबर पार्टी अभियानमा सन् २००७ देखि नै जोडिएका उत्तरबहादुर सन् २०११ पछि सक्रिय बने । सन् २०२४ मा सम्पन्न बेलायतको आमनिर्वाचनमा त उनी लेबर नेतृ अलेक्स बेकरलाई जिताउन मैदानमा निकै खटिए । अलेक्स बेकरले अल्डरसट क्षेत्रबाट लेबर सांसद पनि जितिन् ।त्यतिबेलैदेखि अलेक्ससंग निकट रहेका उत्तरबहादुर लेबरको आग्रहमै वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका छन् ।

उत्तरबहादुर आफूले काउन्सिलर नबन्दै, वेलफेयर अफिस नहुँदा पनि भूतपूर्व वृद्धवृद्धालाई सन् २००६, ०७ देखि धेरै कल्याणकारी काम गरेको र अब पनि निरन्तरता दिने उनले बताए । समुदायमा ‘एण्टी सोसल बिहेभीयर’ बढेको जनगुनासो आएकाले प्रहरीसँग समन्वय गरी त्यसको नियन्त्रणमा काम गर्ने उनको एजेण्डा छ । जनताको स्वास्थ्य सेवा छिटो र सुलभ बनाउन लाग्ने पनि उनले बताए ।

उनले लेबर पार्टीले नै लामो प्रोसेसपछि आफूलाई वेलिङटन वडामा उठाएको जनाए । गुरुङले अहिले आफ्नो चुनाव प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । चुनावी अभियानमा उनलाई लेबर सांसददेखि काउन्सिलरहरुले समेत सघाएका छन् ।

तमु धीं यूके ह्याम्पसायरमा १२ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेका उनी ग्रेटर रसमोर नेपलिज कम्युनिटी (जीआरएनसी) का वर्तमान उपाध्यक्ष हुन् । भाचोक, मादी गाउँपालिकाका स्थायी बासिन्दा उनी विगत ४६ वर्षदेखि पोखरा महानगरपालिका वडा नं १३ बीपी मार्गमा बस्दै आएका छन् । बेलायत अल्डरसट निवासी उनले ब्रिटिस आर्मीमा १९ वर्ष सेवा गरेर अवकास लिएका हुन् ।

विगत ९ वर्षदेखि बेलायतको अल्डरसटमा बस्दै आएका डा. बिशाल गुरुङले नेपाली समाज र बेलायतका निकायहरूबीच अझ सहकार्य गर्न, सरकारी सेवासुविधा र अवसरहरू नेपाली समुदायसम्म पुर्‍याउन र यहाँका बेलायती साथीहरूसँग आत्मीय र सांस्कृतिक सम्बन्ध मजबुत बनाउँदै अल्डरसटलाई अझ सुन्दर बनाउने उद्देश्यअनुरुप आफू काउन्सिलर उम्मेदवार बनेको प्रस्ट पारेका छन् ।

‘नेपालको स्याङ्जा जिल्ला घर भई करिब ९ वर्षदेखि बेलायतलाई कर्मथलो बनाएर अल्डरसटमा बस्दै आएको छु । यहाँ बस्दै गर्दा कहिलेकाहीं काउन्सिल र स्थानीय निकायका प्रतिनिधिहरूसँग भेट्ने मौका पाउँदा, हाम्रो समाज र यहाँका निकायहरूबीच अझ सहकार्य गर्न सकिने धेरै सम्भावना रहेको महसुस भयो । अब त्यो सहकार्यलाई अझ बलियो बनाउन, सरकारी सेवासुविधा र अवसरहरू नेपाली समुदायसम्म पुर्‍याउन र यहाँका बेलायती साथीहरूसँग आत्मीय र सांस्कृतिक सम्बन्ध मजबुत बनाउँदै हाम्रो अल्डरसटलाई अझ सुन्दर; विभिन्न रङका फूलहरूले बुनेको माला जस्तै बनाउनका लागि म कन्जर्भेटिभ पार्टीको तर्फबाट वेल्लिन्टन वार्डको काउन्सिलर पदमा उम्मेदवार बनेको छु,’ उनले भने ।

बेलायतमा बस्दै गर्दा गाउँले संस्था, जातीय संगठन तथा बेलायतका थुप्रै नेपाली संघ-संस्थाहरूमा साथीसँग हातेमालो गर्दै, सुखःदुख साट्ने अवसर पाउँदा अत्यन्त खुशी लागेको भन्दै पछिल्लो समयको अनुभवका आधारमा, नेपालीहरूले बेलायतमा धेरै हदसम्म सफलता हासिल गरेको उनले उल्लेख गरे ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!