बेलायत – तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ नेपाल भ्रमणका क्रममा कास्कीको पर्यटकीय गाउँ ल्वाङ पुग्दा स्थानीयवासी तथा विद्यालय परिवारले भव्य स्वागत तथा विशेष सम्मान गरेका छन्। उहाँले गत वर्ष ल्वाङस्थित श्री बाराही आधारभूत विद्यालयलाई आफ्ना स्वर्गीय बुवा–आमाको स्मृतिमा ७७,७७७ रुपैयाँको “बाराही अक्षय कोष” स्थापनाका लागि सहयोग गर्नुभएको थियो। उक्त सहयोगले विद्यालयको दीर्घकालीन शैक्षिक गतिविधि, छात्रवृत्ति वितरण तथा शैक्षिक सामग्री व्यवस्थापनमा महत्वपूर्ण टेवा पुर्याएको विद्यालय प्रशासनले जनाएको छ।
यसपटक क्वोने, घोताने/घोण्डे गुरुङ (तमु) समाज युकेका सदस्यहरूसँगै ल्वाङ आइपुग्नुभएका गुरुङले स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरूसँग अन्तरक्रिया समेत गर्नुभयो। कार्यक्रममा वक्ताहरूले प्रवासमा रहेर पनि मातृभूमिको शिक्षा र सामाजिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएकोमा उहाँप्रति कृतज्ञता व्यक्त गरे।
धम्पुस–झग्रे निवासी स्व. उदय बहादुर गुरुङ र स्व. कुन्ती देवी गुरुङका कान्छा सुपुत्र कमल गुरुङका पिताले ग्रामीण बालबालिकाका लागि धम्पुस–झग्रेमा उदय माध्यमिक विद्यालय स्थापना गर्नुभएको थियो। सोही शैक्षिक अभियानलाई निरन्तरता दिँदै उहाँ हाल उक्त विद्यालयको संरक्षकका रूपमा सक्रिय हुनुहुन्छ। पारिवारिक रूपमा शिक्षाप्रतिको गहिरो प्रतिबद्धता र सामाजिक उत्तरदायित्वलाई उहाँले विदेशमा रहेर पनि निरन्तरता दिइरहनुभएको छ।
बेलायतमा सफल व्यवसायीका रूपमा स्थापित गुरुङले “शिक्षा उज्यालो घाम हो” भन्ने मान्यतालाई आत्मसात् गर्दै विभिन्न शैक्षिक र सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ। विशेषगरी ग्रामीण भेगका विद्यालयमा अक्षय कोष स्थापना र पूर्वाधार सुधारमा उहाँको सक्रियता उल्लेखनीय छ। तमु समुदायको सांस्कृतिक संरक्षण र सामाजिक एकता सुदृढ बनाउन तमु धीं यूकेमार्फत उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।
सम्मान कार्यक्रममा बोल्दै गुरुङले आफू जन्मे–हुर्केको समाजप्रति कृतज्ञता व्यक्त गर्दै शिक्षा क्षेत्रमा सहयोग गर्नु आफ्नो नैतिक दायित्व भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यालय र गाउँको विकासका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउनुभयो। स्थानीय सरोकारवालाहरूले प्रवासमा रहेर पनि गाउँ र विद्यालयसँग भावनात्मक सम्बन्ध कायम राख्ने गुरुङको कार्य समाजका लागि उदाहरणीय रहेको बताएका छन्।


