अल्डरसट, यूके – गत मार्च १ तारिख २०२६, शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा बाग्लुङ समाज यूकेको सातौँ कार्यसमितिको पहिलो वार्षिक साधारण सभा उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खड्क थापाको सभाध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
पहिलो सत्र: प्रतिवेदन र सम्मान
मध्यान्ह १२:३० बजे महासचिव जित पुनले आसन ग्रहण गराएसँगै सुरु भएको सभामा उपाध्यक्ष गुमानसिंह थापाले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई सम्बोधन गर्नुभएको थियो। कार्यक्रमको सुरुवातमै स्वास्थ्योपचार पछि क्रमिक सुधारको अवस्थामा रहनुभएका कार्यसमितिका सहायक वेब मास्टर रेशम खड्कालाई पूर्ण स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष थापाले पुष्पगुच्छा दिएर सम्मान गर्नुभएको थियो।
सभाको पहिलो चरणमा संस्थागत पारदर्शिता र प्रगति विवरण प्रस्तुत गरियो। जसमा: महासचिव जित पुन: वार्षिक प्रगति प्रतिवेदन। कोषाध्यक्ष लक्षु पुन: आर्थिक प्रतिवेदन। जीवन शाही: भलिबल टिमको तर्फबाट प्रतिवेदन। मिडिया सेक्रेटरी बिसन थापा: सञ्चार र प्रचार प्रसार सम्बन्धी प्रतिवेदन। साथै, विधान प्रमुख क्याप्टेन (रिटायर्ड) राम पुनले समयसापेक्ष परिवर्तन गरिएका विधानका केही महत्त्वपूर्ण बुँदाहरूको बारेमा जानकारी गराउनुभएको थियो।
दोस्रो सत्र: अन्तर–समाज सहकार्य र एकता
दिउँसोको भोजन पश्चात् सुरु भएको दोस्रो सत्र विशेष रह्यो। अध्यक्ष खड्क थापाको विशेष पहलमा पहिलो पटक बाग्लुङ जिल्ला भित्रका र यूकेमा सक्रिय रहेका विभिन्न भातृ संस्थाहरूलाई निमन्त्रणा गरिएको थियो। समाजलाई आर्थिक, नैतिक र हरेक पक्षमा सबल बनाउन कसरी सहकार्य गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आयोजित यस छलफलमा विभिन्न समाजका प्रतिनिधिहरूले धारणा राख्नुभएको थियो।
आफ्नो समाजको बारेमा जानकारी दिने व्यक्तित्वहरूमा: मन बहादुर थापा: अध्यक्ष, लुङ्गा समाज। लाल रोका: संस्थापक अध्यक्ष, लेखानी समाज। रेशम खड्का: अध्यक्ष, पञ्चकोट समाज। जित बहादुर पुन: अध्यक्ष, चौराहा समाज। बिसन थापा: प्रतिनिधि, बाग्लुङ जैमिनी समाज। खड्क थापा: अध्यक्ष, पाण्डवखानी समाज। डा. भिम पुन: अध्यक्ष, रिघाली समाज। राजु बोहरा: प्रतिनिधि, गलकोट समाज।
अग्रजहरूको सुझाव र समापन
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष लेफ्टिनेन्ट (रिटायर्ड) राजन मल्ल, पूर्व अध्यक्ष छवीमाया पुन, विधान प्रमुख राम पुन, विधान टोली सदस्य मन बहादुर थापा, पूर्व उपाध्यक्ष डोलेन्द्र खड्का र स्थापनाकालका सक्रिय सदस्य नरमाया पुन लगायतले समाजको श्रीवृद्धिका लागि आ–आफ्नो तर्फबाट महत्वपूर्ण सुझाव र धारणा राख्नुभएको थियो।
बेलुकी ५ बजे अध्यक्ष खड्क थापाले उपस्थित सबैलाई धन्यवाद दिँदै सातौँ कार्यसमितिको पहिलो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभयो।


