एटा संवाददाता
फार्नबोरो । फार्नबारो साई सेन्टरले श्री सत्य साई बाबाको ९३ औं जन्मोत्सव भव्य रुपमा मनाएको छ । सो पर्व तमुधिं युकेको भवन मिचेटमा स्थानीय ओकिङ्ग, गिल्फोर्ड, फार्नबरो, अल्डरसट वरिपरिका भक्तजनहरुले भव्य सजावटमा पूजा, भजन मेड्ले, रुद्रम एवं बाल आराधनाजस्ता कार्यक्रमहरु गरी श्री सत्य साई बाबाको पूजा आराधना गरेका थिए ।
सेन्टरकी अध्यक्ष सुष्माकुमारी गुरुङको नेतृत्वमा भजन समूह एवं सांगीतिक टोलीको तत्वाधानामा बालविकासका केटाकेटीहरुले समेत भजन गान, कथा वाचन, श्री सत्य साई बाबाको धार्मिक सिद्धान्त, अध्यात्मिक सिद्धान्त, प्रेम, धर्म, सत्य, सेवा र इमान्दिरताबारे विभिन्न कार्यक्रम राखिएका थिए ।
गणेश स्तुतिबाट सुरु भएको कार्यक्रम शुक्रबार २३ नोभेम्बर बेलुकी ७ बजे निद्धिष्ट समयमा संघका सम्पूर्ण कार्यकारिणी सदस्यहरु सम्मिलित भई एकबद्ध रुपमा समाजमा सेवा विस्तार र जीवनको भक्ति प्रार्थनासम्बन्धी छलफल गर्दै कार्यक्रममा सरिक भएका थिए ।
प्रार्थनाका सम्पूर्ण कार्यक्रममा प्रसाद, भोजन र पेय (हल्का) पदार्थ भक्तजनहरुबाट प्रायोजित र विभिन्न किसिमका केकहरु बालबालिकाहरुले काटेर बाँडिएको थियो । सेन्टर सर्भिस कोर्डिनेटर मिङ्गमा तामाङले अध्यात्मिक महत्व, ध्यान र सेवा भावमा श्री सत्य साई बाबाको अविस्मरणीय योगदान भएको बताउँदै संसारभर सो दिन जन्मोत्सव मनाइरहेको जानकारी दिइन् ।
भजन गायन विभिन्न भक्तहरुले गाएका थिए । विशेषततः कल्पना मोथे, मिङ्गमा तामाङ, सीता गुरुङ, ममता गुरुङ, सुष्मा गुरुङ र विजय गोपाल, अक्षेयजी र वाद्यवादनमा मनिष गुरुङले साथ दिए । सो कर्णप्रिय भजन तथा मेड्ले भजन गानले हल पूर्णरुपमा तरंगमय भएको भक्तजनहरुले महसुस गरे । करिब २ घण्टाको पूजा आराधना स्तुतिगान, रुद्रम, कथापाठ, बालबालिकाहरुको नृत्य प्रदर्शन, श्री सत्य साई बाबाको दर्शन व्याख्यासहित आरती गान र प्रसादसहितको जन्मोत्सव समारोह समापन भएको थियो ।
करिब १५० भक्तजनहरु विभिन्न उमेरका उपस्थिति एवं विश्वभरिका मुलुकहरुको प्रतिनिधित्व स्थानीय समारोहमा भएको थियो । कार्यक्रममा सत्य साई बाबाको बारेमा एवं सनातन धर्मका प्रकाशनहरु बाँडिएको र गरिब गुरुवाहरुलाई सेवा, भोजनदान तथा कल्याणकारी कार्यहरुबारे पनि छलफल गरिएको थियो ।






