एटा संवाददाता
नुवाकोट (घलेभञ्ज्याङ) । पञ्चकन्या जनकल्याण युवा समाजको अध्यक्षमा पुन: रामचन्द्र कार्की चयन भएका छन् ।
शुक्रबार भएको चौंथो अधिवेशन एवं साधारणसभाबाट कार्कीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत छनोट भएको हो । कार्यमसमितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ । अध्यक्ष कार्की यसअघि २०७२ पुस ७ गते भएको तेस्रो अधिवेशनमा पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, कार्यवाहक अध्यक्ष एवं अर्का उपाध्यक्षमा टीकाराम तामाङ, महासचिव बालकृष्ण खनाल, सचिव सरोज खनाल, कोषाध्यक्ष रामहरि भण्डारी र सहकोषाध्यक्षमा शान्ता थापा सर्वसम्मत चयन भए । उपाध्यक्षद्वय, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
सदस्यहरुमा रमेशकुमार थापा, राजेन्द्र भण्डारी, जयराम विष्ट, निर्मल विष्ट, निर्मला तामाङ
र विशाल खनाल चयन भएको जनकल्याण युवा समाजले जनाएको छ । २०६६ सालमा स्थापना भएको सो क्लबले सामाजिक सुधारका थुप्रै कार्य गरेको दाबी गरिएको छ । स्थानीयस्तरमा सामाजिक, शैक्षिक, सांस्कृतिक, खेलकुद क्षेत्रको प्रवर्द्धनमा जोड दिँदै विभिन्न कार्यक्रम गर्दै आएको छ ।
२०७२ को महाभूकम्पका बेला पनि साविकको पञ्चकन्या गाविसमा अन्यन्त विपन्न परिवारलाई अस्थायी टहरा निर्माण र गाविसभरका स्थानीयलाई एक घर एक झुलको अभियान समेत चलाइएको थियो ।
जनकल्याण युवा समाजले अल्पकालीन योजना र कार्यक्रमका साथै गाउँका बालबालिकाको शिक्षा सुधारका लागि भन्दै स्थापनाकालदेखि नै जनकल्याण सामुदायिक विद्यालय सञ्चालक गरिरहेको छ । झन्डै आठ वर्षदेखि निरन्तर रहेको सो विद्यालयमा अहिले ५५ विद्यार्थी छन् । विद्यालय सञ्चालनका लागि युवा समाजको कार्यसमितिमा रहेका र अन्य गाउँका युवाहरुबाट सहयोग गरिरहेको युवा समाजले जनाएको छ । अंग्रेजी माध्यमबाट पठनपाठन हुने सो संस्थागत विद्यालयमा कक्षा पाँचसम्म अध्यापन गराइँदै आएको छ । विद्यालयमा प्रिन्सिपल दिलबहादुर क्षेत्रीसहित ६ शिक्षक र एक चाइल्ड केयरको व्यवस्था गरिएको छ ।
जनकल्याणको चौथो अधिवेशनले सो विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाउने भन्दै नयाँ सञ्चालन समितिसमेत गठन गर्ने निर्णय गरेको छ । समितिमा तत्काललाई कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष टीकाराम तामाङलाई संयोजक बनाइएको छ । त्यस्तै चालु आर्थिक वर्षको संस्था नवीकरणका गर्दै आगामी तीन महिनामा सय सदस्य थप्न अभियान चलाउने निर्यण पनि गरिएको छ ।






