प्रचण्डको योजनामा एमालेमै बसेका थिए बादल …

SHARE:

रामकृष्ण शर्मा

दार्शनिक जस्तो तर बोल्ड अनुहार, खाइलाग्दो जिउज्यान, गह्रुंगो बोली, बारुद र डाइनामाइट मिसिएको ओजनदार र विष्फोटक भाषण । २०६५ अघि बादललाई हेर्ने मेरो नजरीया Overrated थियो । २०६५ सालमा रामबहादुर थापा बादल रक्षामन्त्री हुँदा मैले उनीसँग पत्रकारको रुपमा ५ दिन चितवन भ्रमण गर्ने मौका पाएको थिएँ । बादल सधैँ गजधुम्म पर्ने मान्छे हुन्, अनौपचारिक कुरा पनि धेरै नगर्ने । थाहा छैन उनलाई कतिखेरदेखि पिसाबले च्यापेको थियो । ‘कतै रोकेर सुसु गर्न पाए हुन्थ्यो’ उनको यो आवाजपछि मैले सार्वजनिक शौचालय वा कुनै होटलमा जाउँ न फ्रेस पनि भइन्छ भने । तर उनले अस्वीकार गरे र गजुरी पछि आउने गल्छेडोमा त्रिशुलीतिर फर्किएर मन्त्रीले तुर्क्याए । चितवन पुगियो । नेपाली सेनासँगको विवादका कारण उनलाई भरतपुर सेनाको गणमा बास दिइएन र हामी प्रहरी तालिम केन्द्र गयौँ ।

सार्वजनिक भाषणबाट नेता र नेतृत्वको एउटा परिचय बनेको हुन्छ तर दैनिक क्रियाकलाप, रहनसहन र बोलीचालीले उनीहरुको पाइन थाहा हुन्छ, हैसियत छर्लंग हुन्छ । त्यो रात प्रहरीका हाकिमहरुसँग उनले गरेको कुरा सुन्दा लाग्थ्यो उनी माओवादी विद्रोहका सैन्य रणनीतिकार बादल होइनन्, चितवनका एउटा सामान्य शिक्षक रामबहादुर हुन् । उनमा स्वत्व भन्ने छैन । पूर्वी चितवनका विभिन्न भागको भ्रमणदेखि शक्तिखोर पुग्दासम्म उनी पानी नपार्ने बरु बतासको वेगमा उडिरहने बादल रहेछन् भन्नेमा म प्रष्ट भएँ । त्यसपछि उनी मलाई कहिल्यै मन परेन । उनकै बहुलठ्ठी र अनावश्यक इगोका कारण प्रचण्ड नेतृत्वको पहिलो सरकार ढलेको सबैलाई थाहा छ ।

धेरैले विर्सने कुरा के हो भने, २०६० अघि प्रचण्डका लागि बादल ‘लिनप्याओवादी’ थिए तर २०६१ सालको बहुचर्चित फुन्टीवाङ बैठकमा बादलले आफूलाई प्रचण्डमा समर्पित गरे, ‘मेरो सर्वस्व प्रचण्ड नै हो, म प्रचण्डमा विलिन भएँ’ जस्ता वाक्य प्रयोग गरे । २०६८ सालमा माओवादी फुट्ने बेला मैले प्रचण्ड परिवारभित्रका एकजनासँग कुरा गरेको थिएँ । उनले सुनाएका थिए, बादललाई अध्यक्षकै योजनामा बैद्य क्याम्पमा पठाइएको हो । मैले त्यतिबेला त उनको कुरा पत्याइन तर वैद्य पार्टीमा उनले खेलेको भूमिका र पछि लावालस्करसहित प्रचण्डसँग मिल्न आएपछि उनको दाबी पुष्टि नै भयो ।

२०७४ सालमा नेकपा बन्यो । सबैजनाले देश चकाचक हुने आश गरे । ओलीको विग्रदो स्वास्थ्यस्थितिका कारण प्रचण्डले सजिलै एमाले कब्जा गर्ने र सोँचे अनुरुप काम गर्ने अनुमान गरे । तर ओलीको मृगौला प्रत्यारोपण चमात्कारिक रुपमा सफल भयो र प्रचण्डको चाहनामा तुषारापात भयो । ओलीसँग व्यक्तिगत दुश्मनीको तहमा पुगिसकेका प्रचण्डलाई ओलीका सबै सूचना पाउनु थियो त्यसैले बादल गौरीशंकर लगायतलाई एमालेमै रहन भने । बादलको एउटा गज्जबको चरित्र के हो भने उनी आफ्नो ‘देह मात्र मेरो हो, बाँकी सबै तपाईकै हो’ भन्न हिच्किचाउँदैनन् । सायद पम्फा भुसाललाई पनि त्यसै भनेका थिए र कारबाहि भोग्न परेको थियो (🤣) पछिल्लो समय ओलीलाई पनि उनले २०६१ को बैठकमा प्रचण्डमा विलिन भएँ भनेजस्तै दोहोर्याएर विश्वासमा पारेको अनुमान मेरो छ । नत्र चुनावअघिको एमालेजस्तो पार्टीको चुनावी कमाण्डर बादललाई बनाउनुपर्ने कुनै कमाण्डिङ फ्याक्टर थिएन । अहिले संसदीय दलको नेता बनाउन पनि ओली खेमाको बलजफ्ती जरुरी थिएन । प्रचण्ड दुइटा पार्टीका नेता हुन्, माधव खेमा आफ्नै मातहातमै राखेका छन्, ओली पार्टीको कार्यवहाक अध्यक्ष आफूमा विलिन पात्र विराजमान भए !!

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!