काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ६ महिनाको कलिलो उमेरमै बुबाआमाबाट टाढा हुनुपरेका सुधन गुरुङ आज देशको गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। उनको जीवनयात्रा केवल राजनीतिक उचाइको कथा नभई, गहिरो पीडा, संघर्ष र निरन्तर समर्पणको उदाहरण बनेको छ ।
मावली हजुरआमाको काखमा हुर्किएका माननीय गृहमन्त्री सुधन गुरुङले जीवनको कठोर यथार्थ सानैदेखि भोगे। हजुरआमाले खुवाउनुभयो, पढाउनुभयो,बाटो देखाउनुभभयो तर जन्म दिने बुबाआमाको माया सधैं अधुरो नै रह्यो। त्यही अधुरोपनले उनलाई भित्रैदेखि पोल्यो तर कमजोर भने कहिले बनाएन बरु अरूको दुःख महसुस गर्न सक्ने बनायो ।
गृहमन्त्री सुधन गुरुङको बाल्यकालकै एउटा घटनाले उनको स्वभाव प्रष्ट पार्छ। स्कुल पढ्दाका दिनमा एक किसानले गोरुलाई कुटिरहेको दृश्य देख्दा उनी चुप लाग्न सकेनन्। त्यतिबेला गृहमन्त्री सुधन गुरुङ सानो उमेरको भए तापनि ठूलो हिम्मत अन्यायविरुद्ध उभिन उनले त्यतिबेलै सिकिसकेका थिए।
समयसँगै सामाजिक क्षेत्रमा सक्रिय बनेका गुरुङ हामी नेपाल नामक संस्थामार्फत देशका विभिन्न दुर्गम क्षेत्रमा पुगेर राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएका थिए। विशेषगरी बाढीपहिरो जस्ता विपद्का बेला होस् वा दुर्गम गाउँहरूमा खाद्यान्न अभाव भएको अवस्थामा उनी आफैं पुगेर पीडितहरूसँगै उभिएका उदाहरणहरू प्रशस्तै छन्।
त्यो समय जुन काम राज्यले गर्नुपर्ने थियो सुधन गुरुङले एउटा साधारण समाजसेवीका रूपमा अघि बढेर दुःखी र गरिब जनतालाई सहयोग गरेका थिए। आज उनी स्वयं सरकारमा पुगेर गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि उही समर्पण र निरन्तरता देखिन्छ। यो केवल देखावटी सक्रियता होइन किनकि उनले गृहमन्त्रीको पदभन्दा धेरै अघि नै काम गरेर आफ्नो प्रतिबद्धता प्रमाणित गरिसकेका छन्।
गृहमन्त्रीको शपथ लिँदा भने सुधन गुरुङ माथि थुप्रै प्रश्न उठाइएका थिए। यो मान्छेले राजनीति बुझेको छैन न संविधानका धाराहरू थाहा बुझेका छन् जस्ता आरोपहरू सार्वजनिक रूपमा लागेका थिए तर समयसँगै उनको कामले नै उत्तर दिइरहेको देखिन्छ । आज व्यक्तिहरूले उनका गतिविधि र समर्पण देख्दा सायद आफ्नै भनाइ सम्झेर भित्रभित्रै सोचिरहेका होलान् किन त्यस्तो बोलेँ होला ।
व्यक्तिगत पीडाबाट शुरु भएको यात्रा आज राष्ट्रसेवामा समर्पित बनेको छ। गृहमन्त्री सुधन गुरुङको जीवनकथा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ जहाँ अभाव र संघर्षले नै एउटा नेतृत्वको निर्माण गरेको देखिन्छ ।






