लन्डन । क्वीन्स गोर्खा एसोसिएसन यूकेको अध्यक्षमा मेजर रि. कृष्णबहादुर गुरुङ चयन भएका छन् ।
शनिबार ४ अप्रिल २०२६ मा नर्थहोल्ट कम्युनिटी सेन्टरमा सम्पन्न संस्थाको वार्षिक साधारणसभा एवं अधिवेशनले मेरि गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनको दोस्रो चरणमा क्याप्टेन मोतीलाल थापाको संयोजकत्वमा गठित ले. थमप्रसाद गुरुङ एवं खुम बहादुर घले सदस्य रहेको पद हस्तान्तरण-पदभार ग्रहण तथा बुझबुझारथ समितिले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको हो । पद बहालपश्चात् नवनिर्वाचित अध्यक्ष गुरुङले उपस्थित सबै अग्रज र सदस्यहरूलाई आदरपूर्वक कृतज्ञता व्यक्त गरे। उनले पूर्वअध्यक्षसहित कार्यसमितिका पदाधिकारीहरूलाई एसोसिएसनप्रति गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै सम्मान व्यक्त गरे ।
उनले पल्टनमा भर्ना भएपछि सिनिअर गुरूजीहरू, अधिकृतहरू एवं सकल दर्जाका सदस्यहरूको सद्भाव र सहयोगबाट आफू अहिलेको स्थितिमा आइपुगेको स्मरण समेत गरे ।
अध्यक्ष गुरुङले एसोसिएसनको महत्व, सदस्यहरूबीच सामिप्यता र आवश्यकता अनुसार परिमार्जन एवं पल्टनका सेवारत सदस्यहरूबीच स्थापित सौहार्द सम्बन्ध विकासका बारेमा संक्षिप्त चर्चा समेत गरे ।

सो अवसरमा उनले संस्थापक अध्यक्ष-पूर्व अध्यक्षहरू क्याप्टन नरबहादुर पुन, मेजर चन्द्र राई एवं पूर्व पदाधिकारीहरूको अथक मेहनत रहेको यस संस्थाको गरिमा अभिवृद्धिका निमित्त र आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न यथाशक्य प्रयत्नरत रहने प्रण गर्दै अगामी सेप्टेम्बरमा हुन गइरहेको पल्टनको जन्मोत्सव दिवसमा भेट हुने आशासहित सबै सदस्यहरूलाई सहभागिताका निमित्त अनुरोध गरे ।
यसअघि एसोसिएसनका सचिव किरण लिम्बुले सञ्चालन गरेको उक्त साधारणसभाको सभापतित्व मेजर नवीन्द्र विक्रम गुरुङ एमबीइले गरेका थिए । संस्थाका उपाध्यक्ष प्रीति नारायण राईले स्वागत मन्तव्यसहित पल्टन (क्वीन्स गोर्खा सिग्नल्स्) बाट प्राप्त प्रगति विवरण वाचन गर्दै पल्टनले धेरै राम्रो गर्दै गएको र अहिले ७ वटा स्क्वाड्रनहरूमा सेवारत रहि थप अर्को स्क्वाड्रन स्थापित हुने क्रममा रहेको उल्लेख गरे ।
साधारणसभामा कोषाध्यक्ष महेन्द्र राईले आर्थिक विवरण प्रस्तुत गरे भने संस्थाका पब्लिक रिलेसन अफिसर लेफ्टिनेन्ट थम प्रसाद गुरुङले बेलायतको विभिन्न ठाउँमा वसोबास गरिरहेका पल्टनका सदस्यहरूको डेमोग्राफीक सर्वेक्षणसम्बन्धी प्रतिवेदन पेश गरे । राईले हाल बेलायतमा ४८५ सदस्य रहेको र अझ धेरै छुटेकाले उनीहरूलाई कसरी समाहित गर्न सकिन्छ भन्नेबारे आफ्नो धारणा राखे।
यसअतिरिक्त उनले धरानस्थित गोर्खा मेमोरियल पार्कमा क्वीन्स् गोर्खा सिग्नल्सको ब्याज (प्रतिमा) निर्माणका निमित्त एसोसिएसनका सदस्यहरूबाट १५ लाख रूपैयाँ संकलन गरि सहयोग गरिएको जनाउँदै सबै सदस्यप्रति आभार व्यक्त गरे ।
यस सत्रको अन्त्यमा एसोसिएसनका अध्यक्ष मेजर नवीन्द्र विक्रम गुरुङ एबीइले आफ्नो कार्यकालमा भएका गतिविधिहरूको संक्षिप्त विवरण पेश गर्दै सहयोग गर्ने कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू र सदस्यहरूलाई धन्यवाद दिए ।










