एटा संवाददाता
अल्डरसट । नेपाली समुदाय बेलायतमा क्रियाशील सहारा युकेले विविध कार्यक्रमका साथ स्थापनाको दसौं वार्षिकोत्सव मनाएको छ । गत शनिबार १ डिसेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा दसौं वार्षिकोत्सव मनाइएको हो ।
नेपाली समुदाय बेलायत र नेपालको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको सहारा युकेको सन् २००८ सालमा विधिवत् रुपमा स्थापना भएको हो । सहारा युकेले सहारा कप र एभरेस्ट कपको समेत आयोजना गरिसकेको छ भने नेपाली खेलाडीहरुलाई स्थानीय सन्डे लिग खेल्ने मौका प्रदान गरिसकेको छ । अहिले सहारा युकेका खेलाडीहरुले हम्सायर मिड विक प्रिमियर डिभिजनमा खेलिरहेका छन् ।
सन् २०१५ सालमा नेपालमा आएको भूकम्पबाट क्षतिग्रस्त गोर्खा गैरुङ्ग, ज्यार्मिस्वाराको गणेश प्रावि, कास्कीको सिदिङ्गस्थित सरस्वती प्रावि र सिन्धुपाल्चोक हैबुङ्गस्थित हैबुङ्ग महादेवस्थान माध्यमिक विद्यालय भवनको लाखौं रुपैयाँ खर्च गरी पुनर्निर्माण गरेको छ । त्यस्तै, विभिन्न रोगबाट पीडित बिरामीहरुको सहयोगार्थ आर्थिक सहयोग समेत गर्दै आएको छ । त्यस्तै, सप्तरीका बाढीपीडितहरुलाई समेत आर्थिक सहयोग गरेको छ ।
संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अल्डरसट क्षेत्रका सांसद लिओ डोचर्टी विशेष अतिथि, एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य, स्थानीय काउन्सिलका काउन्सिल लिडर डेविड क्लीफोर्ट, ह्याम्पसायर एफएका अध्यक्ष जेम्स पियरसन, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीलगायत अतिथिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. सुवेदीले सहाराले गर्दै आएको विभिन्न खेलकुद तथा परोपकारी कामको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे । साथै, उनले सहारा युकेले दसौं होइन, सयौं वार्षिकोत्सव मनाउन सकोस् भन्ने शुभेच्छा प्रकट गरे । त्यस्तै, विशेष अतिथि सांसद लियोले गोर्खा कम्युनिटी र बेलायतको २०० वर्षको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै सहारा युकेले नेपाल र स्थानीय बेलायतमा गरेका विभिन्न च्यारिटीमूलक कामहरुको प्रशंसा गरे । त्यस्तै, सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङले सकारात्मक सोचका साथ सबैको प्रयासले सहारा युकेलाई सफलता मिलेको बताए ।
कार्यक्रममा कार्यसमितिमा रहेर संस्थालाई विशेष योगदान दिएबापत संस्थाका महासचिव कृष्ण गुरुङलाई ‘सहारा युके अवार्ड’ले सम्मान गरिएको थियो । त्यस्तै, सहारा युकेका सल्लाहकार मञ्जु गुरुङ राईलाई सहारा युके सँगसँगै विभिन्न संघसंस्थामा रहेर गरेको सामाजिक तथा परोपकारी कार्यको प्रशंसा गर्दै ‘सहारा स्पेसल अवार्ड’ बाट सम्मान गरियो । साथै, संस्थालाई विशेष योगदान दिएका विभिन्न व्यक्तिहरुलाई ‘प्रेसिडेण्ट एप्रिसिएसन अवार्ड’ बाट सम्मान गरिएको थियो ।
सहारा युकेका अध्यक्ष मिनबहादुर (साइँला) गुरुङले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, प्रायोजक, पूर्वअध्यक्षहरु, कार्यसमिति, सल्लाहकार, सहाराको विकासमा विशेष योगदान दिएका विभिन्न व्यक्ति, शुभचिन्तक र उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सहारा युकेको विभिन्न गतिविधिहरु समेटिएको सहारा युके स्मारिकाको विमोचन गरिएको थियो । सो अवसरमा सहारा युकेका सल्लाहकार एवं स्मारिकाका प्रधान सम्पादक एकेन्द्र गुरुङले स्मारिकाको बारेमा बोलेका थिए ।
सहारा युकेका उपाध्यक्ष कुमार गुरुङले प्रमुख अतिथिलगायत सबैलाई स्वागत गर्दे सहारा युकेको बारेमा छोटो जानकारी दिएका थिए । सो अवसरमा सहारा युकेले हालसम्म गरेका कार्यहरु समेटिएको छोटो वृत्तचित्रसमेत प्रस्तुत् गरिएको थियो ।
राफल ड्र समेत खेलाइएको कार्यक्रममा नेपालबाट आएकी गायिका रुवी गौली, आँचल लामा र स्थानीय गायिका ममता गुरुङले विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए भने युके डान्स अफ विजेता रजनी गुरुङ र संगीता गैरेलगायत स्थानीय युथहरुले विभिन्न आकर्षक नृत्य प्रस्तुत् गरेका थिए ।
सहारा युकेका अध्यक्ष मिन गुरुङ र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. सुवेदीले दीपप्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा विशेष अतिथि सांसद लियो डोचार्टी, एनआरएनए आईसीसी कुल आचार्य, रसमुर बोरो काउन्सिल लिडर डेविड क्लीफोर्ड, ह्यामसायर एफएका अध्यक्ष जेम्स पियरसन, सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्वअध्यक्ष दिलीप गुरुङ, प्रमुख सल्लाहकार महेश गुरुङ (गोदब), सहारा एफसीका चेयरमेन ले.रि. कुसाङ्ग गुरुङगायतले १० वटा बेलुन उडाएका थिए । सो अवसरमा दसौं वार्षिकोत्सव केकसमेत काटिएको थियो ।
साहरा युकेका अध्यक्ष मिनबहादुर गुरुङ (साइँला) को अध्यक्षतामा सम्पन्न कार्यक्रम भने उपाध्यक्ष कुमार गुरुङले संयोजन गरेका थिए भने महासचिव कृष्ण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै, सूर्य गुरुङ र पूर्वमिस युके नेपाल नेया देवानले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।






