लाल पुन
फानब्रो । मगर संघ युकेको पाँचौ कार्यसमितिले अन्तिम त्रैमासिक बैठकसँगै जेहेन्दार विद्यार्थी च्यारिटी दिनरको पोस्ट मिटिंग र समीक्षा बैठक सम्पन्न गरेको छ ।
शनिबार ८ डिसेम्बरमा मगर भवनमा भएको त्रैमासिक बैठकमा महासचिब लाल पुनले केन्द्रको गतिविधि, कोषाध्यक्ष नेत्र आलेले आर्थिक गतिविधि, पूर्वअध्यक्ष मेजर कुल थापाले मगर संघ युकेको हाउजिङ्ग, निवर्तमान अध्यक्ष दुत पुन (चिम्खोले काइँला) र हनेरी ले. सुनिल रानाले जेहेन्दार विद्यार्थीको लागि १ करोड अक्ष्यक्ष कोष विवरण दिएका थिए ।
केन्ट शाखा अध्यक्ष क्याप्टेन रामबहादुर पुन, युएचएसबी शाखाबाट अध्यक्ष लेख राना र स्वीन्डन शाखाबाट उपाध्यक्ष कुमार रानाले शाखाका गतिविधि प्रस्तुत गरेका थिए ।
बैठकको महत्वपूर्ण बुँदामा पर्ने ३७ औं मगर दिवस २३ फेब्रुअरीको दिनमा रेडिंग रिभरमेड लेजर कम्प्लेक्समा आयोजना गर्ने भएको छ । प्रमुख सहयोजक मगर संघ युकेका महिला उपाध्यक्ष अनिता रानाले सफल पार्नको लागि राय, सल्लाह, सुझाव पेस गरेका थिए ।
बैठकबाट ले. क. याम राना विशेष सल्लाहकार मगर संघ युकेले मगर दिवसको (पृष्ठभूमि ब्यानर) ब्याकड्रप व्यानरलाई प्रायोजित गर्ने, नेपाल मगर संघका अध्यक्ष नविन रोका प्रमुख अतिथि र महासचिव ज्ञानेन्द्रद्र पुन विशिष्ट अतिथि रहने तथा टिकेट कोषाध्यक्षमार्फत छिट्टै उपलब्ध गराई माघे संक्रान्तिभन्दा पहिला नै सबै शाखाहरुमा पुर्याउने र मगर दिवसको आउँदो बैठक २० जनवरी आइतबार बस्ने निर्णय गरेको मगर संघले जनाएको छ ।
त्रैमासिक बैठक को महत्वपूर्ण बुँदा नम्बर दुईमा आउंदै गरेको २०१९ अप्रिलको एनजीएमा निर्वाचन आयोग समिति चयन गरेको छ । सल्लाहकार विजय थापा मगर अध्यक्ष, विशेष सल्लाहकार ले. क. याम राना निर्वाचन आयोग उपाध्यक्ष, सल्लाहकार नरेश खपांगी मगर निर्वाचन सचिव, सल्लाहकार रमेश सराङकोटी मगर निर्वाचन संयोजक र बाँकी ३ जना निर्वाचन आयोगका पदाधिकारीहरुबाट छनोट हुने गरी जम्मा ७ जनाको मुख्य निर्वाचन कमिटी हुने बैठकले पारित गरेको छ ।
त्यसैगरी त्रैमासिक बैठकले १ जुन २०१९ शनिरुार दिन हुने नेपाली ओपन कन्सर्टमा नेपालबाट छ जना कलाकार ल्याउने निर्णय गरेको छ । नेपाली ओपन कन्सर्ट मगर संघ युकेको ठूलो अनि महत्वपूर्ण कार्यक्रम हो ।
नेपालबाट धेरै टाढाटाढा बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपालीको लागि राखिएको प्रोग्राम हो, नेपाली ओपन कन्सर्ट । बेलायतमा हजारौ नेपालीहरु एक ठाउँमा भेला भएर आफ्नो दुःखसुख साट्ने थलो भएकोले समयको मागअनुरुप बैठकले नेपालबाट ६ जना कलाकारहरुलाई ल्याउने निर्णय गरेको मंगर संघले प्रस्ट्याएको छ । जसमा नेपालका चर्चित लोकदोहारी गायक, गायिका, हास्य कलाकारहरु अनि चर्चित पपगायकहरुबाट ५ जनाको नाम बैठकले पारित गरिसकेको छ । एक जना नेपाल आइडल र भ्वाइस अफ नेपालबाट गायकहरुको प्रस्तुति हेरेर यसै हप्ताभित्र छनोट गर्ने जनाइएको छ । ६ जना कलाकार टुंगो लागेपछि मात्रै सबैको एकै साथ सार्वजनिक गरिने भएको छ ।
नेम थापाको अध्यक्षतामा सम्पन्न त्रैमासिक र च्यारिटी डिनर बैठक महासचिव लालबहादुर पुनले सञ्चालन गरेका थिए ।






