लन्डन । किरात याक्थुङ चुम्लुङ युकेको ग्रेटर लन्डन सिनियर शाखाले लिम्बु समुदायको मौलिक पर्व यक्वा तङ्नाम भव्यताका साथ मनाएको छ ।
गत २५ अप्रिल २०२६ का दिन फेल्तहाम कम्युनिटी कलेजमा शाखा अध्यक्ष कुलकेशर सेनेको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बु, केन्द्रीय कोषाध्यक्ष खगेन्द्र लावती, नेपाल पत्रकार महासङ्घ युकेकी अध्यक्ष बिमला सेनेलगायत ग्रेटर लन्डन सिनियर शाखाका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो । यक्वा तङ्नामको अवसरमा विधिपूजा र मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिएको थियो ।
स्थानीय कलाकार सुरेश कन्दङ्वा र राजपाल लिम्बुले लिम्बु गीत, हाक्पारे तथा नेपाली गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा लिम्बु समुदायको मान, सम्मान र पहिचान झल्काउने च्याब्रुङ नाच प्रस्तुत गरिएको थियो । च्याब्रुङ नाचको नेतृत्व पूर्ण बोक्खिमले गरेका थिए ।
नेपाल पत्रकार महासङ्घ युकेकी अध्यक्ष बिमला सेनेले यक्वा तङ्नामप्रति लिम्बु समुदायको प्राचीन विश्वासबारे प्रकाश पार्दै सञ्चार जगतले समाजमा पुर्याउने जनचेतनाको विषयमा आफ्नो धारणा राख्दै शुभकामना व्यक्त गरिन् ।
प्रमुख अतिथि कमला सेन्दाङ लिम्बुले यक्वा तङ्नामलाई लिम्बू समुदायको प्राचीन र सम्मानित सांस्कृतिक परम्परा हुनुका साथै पुर्खा तथा प्राकृतिक देवताप्रति कृतज्ञता र श्रद्धा व्यक्त गर्ने अवसर भएको बताइन् । यो अनुष्ठान खेतीपातीमा सहयोग गर्ने देवताको सम्मानमा समर्पित गरिने हुनाले यो पर्व एक गम्भीर तथापि हर्षोल्लासपूर्ण अवसर रहेको उल्लेख गर्दै सम्पूर्ण शाखा सदस्यहरूलाई शुभकामना व्यक्त गरिन् ।
शाखा अध्यक्ष कुलकेशर सेनेले यक्वा तङ्नाम सम्पूर्ण याक्थुङ लिम्बू समुदायले हार्दिकतापूर्वक मनाउने उत्सव भएको बताउँदै यसमा समुदायले देवताहरूसँग प्रशस्त पानी, खेतीपातीका लागि अनुकूल मौसम तथा कृषि कार्यमा आउन सक्ने सम्भावित विपत्तिहरूबाट सुरक्षाको प्रार्थना गर्दै आएको र प्राचीनकालदेखि अपनाउँदै आएको यस विधिलाई परदेशमा रहे पनि निरन्तरता दिन आवश्यक रहेको बताए ।
यस पर्वका दिन समुदायमा आपसी सद्भाव र एकता सुदृढ हुने गरी आफन्त र साथीभाइलाई निम्तो दिई स्वादिष्ट खानेकुरा र पेय पदार्थको आदानप्रदान गर्ने चलन रहेको छ । पालामको मधुर गायन, केलाङ र यालाङको तालमा नृत्य तथा अन्य मनोरञ्जनात्मक गतिविधिले समुदायलाई उत्सव र एकताको साझा भावनामा बाँध्ने भन्दै उनले आमन्त्रित पाहुनाहरू तथा ग्रेटर लन्डन सिनियर शाखाका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेको ग्रेटर लन्डन सिनियर शाखाका मिडिया संयोजक
नर थाम्सुहाङले जानकारी गराएका छन् ।






