लन्डन । बेलायत निवासी कवि शान्ति लिम्बुको नयाँ कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ नेपालमा विमोचन गरिएको छ ।
ओयाम सरोकार समाज काठमाडौंले शनिबार ललितपुरको तिखेदेवल-१४ स्थित दरबार रेस्ट्रो होटल एन्ड पार्टी भेन्यूमा आयोजित समारोहमा लेखक, साहित्यकार तथा विश्लेषक खगेन्द्र संग्रौला, चलचित्र निर्देशक नवीन सुब्बा, कवि विमला तुम्खेवा, समालोचक गुरुङ सुशान्त, कवि शान्ति लिम्बुलगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् । नेपाली साहित्य र सामाजिक क्षेत्रमा एक सुपरिचित कवि शान्तिको यो पाँचौं कृति हो । यसअघि कवि लिम्बुको पहिलो कृति ‘चेरिशा’, दोस्रो ‘मिलीजुली’ आख्यान र तेस्रो ‘शान फुड’ र चौंथो “कस्तुरी यात्रा” कृति प्रकाशित भइसकेका छन् ।
यो कवितासंग्रहमा सङ्ग्रहित कविताहरूले प्रवासको जीवन (लन्डन) र आफ्नो मातृभूमिको सुगन्ध (पूर्वी नेपालको पाँचथर) बीचको भावनात्मक सम्बन्धलाई उजागर गर्दछन् । थेम्सको आधुनिकता र तमोरको प्राचीनता यस कृतिको मूल भाव हो ।
कविताहरू सांस्कृतिक पहिचान र परम्परा, प्रवासका अनुभूति र नोस्टाल्जिया, समाज र जीवनका विविध पाटारू, प्रकृति र मानवीय संवेदनामा आधारित छन् उनका रचनाहरूमा लिम्बु संस्कृति र नेपाली पहिचानको गहिरो छाप पाइन्छ ।
कवितामा प्रयुक्त विम्ब`तमोर´ देशको पूर्वी क्षेत्रको नदी हो । लिम्बू संस्कृतिको उद्गम स्थल हो । कवयित्रीले आफ्ना कविताहरूमा तमोरका ढुंगा र माटोसँगको सामीप्यतालाई `स्पर्श´ को रूपमा प्रस्तुत गरेकी छन् । कविताको यो खण्डले मातृभूमिप्रतिको अगाध प्रेम र पुर्खाले छोडेका पदचापहरूलाई स्मरण गराउँछ । कविताको अर्को खण्ड `थेम्सको लहर´ कवयित्री लिम्बूको आधुनिक यात्रा हो । प्रवासी जीवनका अभिव्यक्ति हो । लन्डनको मुटु भएर बग्ने `थेम्स´ नदी आधुनिक जीवनको प्रतीक हो । प्रवासमा रहेर पनि नेपाली मुटु बोक्ने स्रष्टाले `थेम्सका लहरहरू´मा आफ्नै देशको विम्बहरू कवितामार्फत प्रकट गरेकी छन् । अर्को शब्दमा यो कविता संग्रहले विश्वका दुई फरक भूगोललाई जोडेको छ ।
समालोचक गुरूङ सुशान्तले `तमोर थेम्स´दुई फरक सभ्यतालाई जोडेर कवयित्रीले `कवितात्मक भूगोल´बनाएको बताए । कवितामार्फत गोर्खा भर्तीको पुनर्विचारको माग गरेकी छन् । प्रतिरोधी स्त्री चेतनाको सशक्त प्रकटीकरण भएको गुरूङ बताउँछन् । उनका कविताहरूलाई गुरूङले `प्रतिरोधको भाषा´ भएको टिप्पणी गरे ।
कवि विमला तुम्खेवाले समालोचना गर्दै कविता सिर्जना बलियो हुन स्मृति र जीवन भोगाइ चाहिने भन्दै शान्ति लिम्बुले आफूले भोगेर आएको कर्म, जीवनका कारण कविता शक्तिशाली बनेको बताइन् ।






