फोनिज युके पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना गर्ने अभियानमा छु

SHARE:

प्रमिला लाबुङ्ग राई, अध्यक्ष, फोनिज युके
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेकी अध्यक्ष प्रमिला लाबुङ्ग राईले नेपालका आदिवासी जनजाति पत्रकारहरुको सहयोगार्थ आगामी जुन महिनाभित्र ५ लाख रुपैयाँको फोनिज युके पत्रकारिका पुरस्कारका लागि अक्षय कोष स्थापना गर्ने बताएकी छन् । उनले सन् २०१७ को अगस्ट २८ तारिखमा अल्डरसटमा सम्पन्न फोनिजको अधिवेशनबाट ३ वर्षका लागि अध्यक्षको जिम्मेवारी लिएकी हुन् । ईलाम जिल्ला सूर्योदय नगरपालिका समालबुङ्ग शान्तिबजारमा जन्मिनु भई भूतपूर्व ब्रिटिस गोर्खा श्रीमान् प्रेमबहादुर राई, छोरा प्रशन र छोरी पुनमसँग सन् २००५ देखि बेलायत बस्दै आएकी छिन् । उनको १५ महिनाको कार्यकाल र आगामी योजनाबारे एभरेस्ट टाइम्सले गरेको छोटो कुराकानी ।
फोनिज युकेको बारेमा छोटो जानकारी गराइदिनुहोस् न ?
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके बेलायतमा रहेका नेपालका आदिवासी जनजाति पत्रकारहरुलाई संगठित गर्ने उद्देश्यका साथ सन् २०१३ मा पूर्ण गुरुङको अध्यक्षतामा स्थापना भएको हो । यो फोनिज नेपालको थुप्रै शाखाहरुमध्येको एक विदेशमा रहेको शाखा हो । यस शाखाको हालसम्म किरण टि लिम्बु र विश्वासदीप तिगेलाज्यूले अध्यक्षता गरिसक्नु भएको छ ।
तपाईले अध्यक्षको जिम्मेवारी लिइसकेपछि के के कामहरु गर्नुभयो र आगामी योजनाहरु के के छन् ?
फोनिज युकेले नेपालका आदिवासी जनजातिहरुको हक अधिकारका लागि कलम चलाउँदै आउनुभएका आदिवासी जनजाति पत्रकारहरुलाई सन् २०१६ देखि फोनिज युके पत्रकारिता पुुरस्कारले सम्मान गर्दै आएको छ । र, त्यस कार्यलाई मेरो अध्यक्षतामा रहेको कार्यसमितिले पनि निरन्तरता दिँदै आएका छौं । सन् २०१६ मा हामीले गोपाल छान्छा राई र रामविकाश चौधरीलाई १५÷१५ हजार रुपैयाँ नगदले पुरस्कृत ग¥यौं । त्यस्तै, सन् २०१७ मा गणेशमान गुरुङ र मिलन राईलाई जनही १५ हजारको दरले नगद पुरस्कारले सम्मान ग¥यौं । साथै, यस वर्ष अर्थात् २०१८ मा भने हामीले गोरखापत्रका सहसम्पादक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका राजेश चाम्लिङ्ग राईलाई ३० हजार रुपैयाँ नगदले पुरस्कृत गर्दैछौं । यस वर्षदेखि भने एकजनालाई मात्र प्रदान गर्ने निर्णय गरिएको छ । र, अर्को वर्षदेखि पुरस्कारको राशि भने ५० हजार रुपैयाँ पु¥याउने हाम्रो योजना छ ।
कामकै कुरा गर्ने हो भने हामीले बेलायतमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न वर्कसपहरु सञ्चालन गरिरहेका छौं । त्यस्तै, आर्थिक अवस्था कमजोर भएका घाइते तथा बिरामी पत्रकार साथीहरुलाई समेत आर्थिक संकलन गरी सहयोगसमेत गर्दै आइरहेका छौं । र, हामीले स्थानीय बेलायतमा रहेका आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण गराउने योजना सँगसँगै निकट भविष्यमा नेपालका आदिवासी जनजाति महिला पत्रकारहरुको सीप तथा क्षमता अभिवृद्धि गराउन सहयोग गर्ने योजना ल्याउँदै छु ।
तपाईले आर्थिक सहयोगको कुरा गर्नुभयो, अहिलेसम्म को कसलाई के कति सहयोग गर्नुभयो ?
नेपालका आदिवासी जनजाति, मधेसी, दलित र महिलाहरुको हकअधिकारका लागि कलम चलाउँदै आउनुभएका घाइते तथा बिरामी पत्रकार सञ्जय सन्तोषीलाई ३१ हजार ५ सय रुपैयाँ, गोपाल छाङ्छालाई ४० हजार रुपैयाँ र नेपाल पत्रकार महासंघ केन्द्रीय पूर्वमहासचिव उजिर मगरलाई ५२ हजार ९४६ रुपैयाँ सहयोग संकलन गरी उहाँहरुको उपचारमा सहयोग गर्‍यौ ।
त्यस्तै हामीले फोनिजको केन्द्रीय महाअधिवेशनका लागि ५० हजार रुपैयाँ सहयोग रकम संकलन गरी नेपाल पठायौं । र, सगरमाथा आरोही पत्रकार देउराली चाम्लीङ्गलाई समेत ३७, ८१४ रुपैयाँ रकम संकलन गरी सहयोग गर्यौं‍ ।
कसरी जुटाउनु भयो सहयोग रकम ?
हामीले फोनिजभित्रकै साथीहरुबाट धेरैजसो रकम जुटाएका हौं । तर, पत्रकार उजीर मगरको सहयोगमा भने मगर संघ युकेका साथीहरुले पनि सहयोग गर्नुभएको थियो ।
तपाई फोनिजबाहेक अरु कुन कुन संस्थामा आबद्ध हुनुहुन्छ ?
म स्थानीय ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेको प्रवक्ता, नेपाल पत्रकार महासंघ युकेको सभासद, किरात राई यायोक्खाको उपमहासचिव, ईलाम सोसाईटी युकेको उपाध्यक्षमा रहेर काम गरिरहेकी छु ।
तपाई धेरै संघसंस्थामा समेत आवद्ध हुनुहुन्छ, नेपाली समुदाय बेलायतको अवस्था कस्तो पाउनुभयो ?
नेपाली समुदाय बेलायत सेटलमेन्टको क्रममा छ । आप्mनो भाषा, कला र संस्कृतिलाई संरक्षण तथा सम्वद्र्धन पनि गर्नु छ । दोस्रो पुस्ताका सन्तानहरुमा नेपाली संस्कार, संस्कृति कसरी हस्तान्तरण गर्ने र कसरी यसलाई जीवन्त राख्ने भन्ने विषयमा सबै नेपाली संघ संस्थाहरु चिन्तित छन् ।
फोनिज युकेको अध्यक्षको हैसियतले नेपाली संघसंस्थाहरुबाट के कस्ता सहयोग पाइरहनुभएको छ र उहाँहरुबाट आगामी दिनहरुमा के कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
नेपाल आदिवासी जनजाति महासंघ युके, एनआरएनए युके र जातीय संघसंस्था लगायतबाट आवश्यक साथ र सहयोग पाइरहेका छौं । र, मैले अघि नै भनिसकें हामीले नेपालमा प्रदान गर्दै आएको फोनिज युके पत्रकारिका पुरस्कारका लागि ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्न लागेका छौं । सो अभियानमा सहयोग गरिदिनहुनका लागि हामीले पत्रचार गरिरहेका छौं । यस्तो सकारात्मक अभियानमा पक्कै पनि नेपाली समुदाय बेलायतले सहयोग गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा र विश्वास हो ।
तपाईले कहिलेबाट पत्रकारिकता सुरु गर्नुभयो ?
विद्यार्थीकालदेखि नै मलाई पत्रकारितामा चाहना थियो । तर, त्यसबेला मेरो चाहना पूरा हुन सकेन । म कान्तिपुरलगायत धेरैजसो दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरुको नियमित ग्राहक नै थिएँ । मैले वार्षिक करिब ६ हजार ५ सय रुपैयाँ त पत्रपत्रिका खरिदमै खर्च गर्थें । र, मेरो रेडियोमा काम गर्ने चाहना पहिलादेखि नै थियो । त्यो मेरो चाहना सन् २०१२ मा आएर रेडियो बीजीडब्लूएसले पूरा गरिदिएको छ । फार्नबोरोस्थित रेडियो बीजीडब्लूएसमा करिब १ वर्ष स्वयंसेवकको रुपमा काम गरें । त्यसपछि रेडियो बीजीडब्लूएसको प्रशासनको जिम्मेवारी सँगसँगै रेडियो प्रस्तोताको रुपमा काम गर्दै आएकी छु ।
फोनिजमा कतिजना पत्रकारहरु आवद्ध हुनुहुन्छ ?
कार्यालयको रेकर्डअनुसार फोनिज युकेमा हाल ३७ जना पत्रकारहरु आवद्ध हुनुहुन्छ । तर, आवद्ध नभए तापनि पत्रकारिता गरिरहेका अरु आदिवासी जनजाति पत्रकारहरुसमेत सक्रिय हुनुहुन्छ । संख्याकै कुरा गर्ने हो भने करिब ५०÷६० आदिवासी जनजाति पत्रकारहरु बेलायतमा सक्रिय हुनुहुन्छ ।
नेपाली संघसंस्थामा युवाहरुको त्यति संलग्नता देखिँदैन, फोनिजमा युवा पत्रकारहरुको सहभागिता कस्तो छ ?
तपाईले भने जस्तै फोनिजमा ३७ जनामध्ये २÷३ जना युवा पत्रकारहरु मात्र सक्रिय हुनुहुन्छ । मिडियामा फ्रेस गे्रज्युयड गरेका थुप्रै युवाहरु पनि हुनुहुन्छ । उहाँहरुलाई पनि नेपाली मिडियामा ल्याउने हाम्रो कोसिस रहने छ ।
नेपाली समुदाय बेलायत नेपालप्रति धेरै नै चिन्तन रहेको देखिन्छ, बेलायतप्रति पनि चिन्तन हुनुपर्ने होइन र ?
बेलायतमा बसेपछि यस देशप्रति चिन्तन गर्नु र यहाँको स्थानीय समुदायभित्र भिज्न एकदमै जरुरी कुरा हो । यहाँको लागि पनि सोच्नु पर्ने हो । तर, यहाँ सबै कुरा व्यवस्थित छ र नेपालमा धेरैजसो आधारभूत आवश्यकताहरु पनि पूरा नभएको अवस्था भएकोले हामी सबै नेपालप्रति बढी चिन्तित भएको हुनुपर्छ । अहिले बेलायतमा करिब २६० वटा नेपाली संघसंस्थाहरुले ९९ प्रतिशत काम नेपालको लागि नै काम गरिरहेको अवस्था छ । सायद, यो मातृभूमिको मायाले नै हुनु पर्छ । यहाँ पनि काम नभएको र नगरेको होइन । थुप्रै संघसंस्थाहरुले यहाँका स्थानीय च्यारिटी कार्यक्रमहरुमा पनि सहयोग गरिरहनु भएको छ र गर्नुपर्छ पनि । रसमुर बोरो काउन्सिलकै कुरा गर्ने हो भने यहाँको स्थानीयले आयोजना गरेको २ के, १० के र मेयर च्यारिटी कार्यक्रमलगायतमा हामीले पनि उपस्थिति देखाइरहेका छौं ।
स्थानीय बेलायती समुदायसंग इन्टीग्रेशन गर्न के गर्नुपर्छ ?
मेरो बुझाईमा जहाँ नेपालीहरुको बाक्लो बसोबास छ, त्यहाँ नेपाली कम्युनिटी खोलिएको छ । जहाँ बस्नु भएको छ त्यस एरियाको काउन्सिलमा आवद्ध हुनुपर्छ । हुन त, राजनीति र समाजसेवामा चासो भएका साथीहरुले स्थानीय समुदायसंग काम गरिरहेका छन् । बेलायतमा हामी संख्यात्मक हिसाबले पनि करिब १ लाखभन्दा बढी छौं । त्यसैले पनि अब नेपालीहरु पनि लिडरसीपको भूमिकामा आउनुपर्छ । हामीले राजनीतिमा प्रवेश नगरी परिवर्तन गर्न सकिँदैन । अहिले थुप्रै नेपालीहरु काउन्सिलर पदमा चयन हुनुभएको छ । यो संख्या बढ्दै आइरहेको छ । त्यस्तै, गत वर्षको यहाँको संसदीय निर्वाचनमा बच्चु कैलाश कैनीज्यू उम्मेदवार बन्नुभएको थियो । त्यसैले अबको हाम्रो आवश्यकता भनेको राजनीतिमा प्रवेश गर्ने हो । त्यसका लागि हामी सबैले विशेष भूमिका खेल्नु पर्छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
सर्वप्रथम त एभरेस्ट टाइम्सलाई धन्यवाद दिन चाहन्छु । र, त्यस्तै, रेडियो बीजीडब्लूएसका निर्देशक मेजर सोनाम शेर्पाज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । उहाँको निर्देशनमा मैले सञ्चारक्षेत्रमा धेरै कुराहरु सिक्ने र बुभ्mने मौका पाएँ । त्यसैगरी फोनिज युकेलाई साथ र सहयोग गर्नुहुने कार्यसमितिका साथीहरु, अग्रजहरु र विभिन्न नेपाली संघसंस्थाहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!