लन्डन । बेलायतस्थित नेपाली दूतावास लन्डनमा ‘यूके–नेपाल सहकार्यः लगानी तथा अकाउन्टिङ आउटसोर्सिङका सम्भावना’ विषयक सेमिनार सम्पन्न भएको छ ।
सरकारी अधिकारी, व्यवसायी तथा लेखा व्यवसायसँग सम्बन्धित विज्ञहरूको सहभागितामा शुक्रबार लन्डन दूतावासमा उक्त सेमिनार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले विश्वव्यापीस्तरमा अर्थतन्त्र, डेमोग्राफिक्स र प्रविधिमा महत्त्वपूर्ण रूपान्तरण तथा आउटसोर्सिङ र लगानीको प्रवृत्ति पनि परिवर्तन र द्रुत गतिमा विकसित भइरहेको बताए ।
उनले ग्लोबल आउटसोर्सिङ ट्यालेन्ट इन्डेक्स २०२६ प्रतिवेदनले कम श्रम लागत, उच्च अंग्रेजी दक्षता, प्रतिभा उपलब्धता, डिजिटल इन्फ्रास्ट्रक्चर र व्यापार, कानुनी र राजनीतिक स्थिरताका कारण आउटसोर्सिङ प्रतिस्पर्धामा नेपाल विश्वव्यापी रूपमा १९ औं स्थानमा रहेको देखाएको जनाए ।
इन्सटिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) का उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्लेले विश्वव्यापी आउटसोर्सिङ बजारको आकार २११ अर्ब अमेरिकी डलर रहेको उनले उल्लेख गरेका थिए । उनले नेपालसँग प्रमाणित डिजिटल क्षमता, उदाउँदो आउटसोर्सिङ मूल्य तथा प्रतिस्पर्धी बजार प्रवेशको सम्भावना रहेको बताए ।
युवा पलायन, पूर्वाधार अभाव, सफ्टवेयर तथा अनुपालनसम्बन्धी कमजोरी र डेटा सुरक्षासम्बन्धी स्पष्ट नीतिको आवश्यकतालाई प्रमुख चुनौतीका रूपमा रहेको
उनले औंल्याए ।
वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सरोज सापकोटाले नेपालले आफूलाई केवल सस्तो आउटसोर्सिङ गन्तव्यका रूपमा नभई विश्वसनीय क्षमता केन्द्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण प्रसाद दाहालको संयोजनमा आयोजित प्यानल छलफलमा नेपालमा आउटसोर्सिङ उद्योग विस्तारका चुनौती र सम्भावनाबारे चर्चा गरिएको थियो ।
कार्यक्रममा नेपाल ब्रिटेन च्याम्बर अफ कमर्शका अध्यक्ष डा. रोशन राठी, नेपलिज एकाउन्टेन्टस् एसोसिएसन यूकेका अध्यक्ष शशीधर नेपाल, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष बिराज भट्ट, नेपालका सहायक महालेखा परीक्षक चन्द्र कान्त भण्डारी, इन्सटिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ स्कटल्याण्डका पूर्वअध्यक्ष इन्डी सिंह होती, इन्सटिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) का अध्यक्ष निलबहादुर सारु मगरलगायतले बोलेका थिए ।






