पूर्ण गुरुङ, लण्डन ।
पोखरा, हेम्जा गुम्बाका धर्म गुरु हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अल्डरसटस्थित गुम्बामा धार्मिक प्रवचन सम्पन्न भएको छ। शनिबार १६ मे का दिन आयोजित विशेष समारोहमा उहाँले कम्ग्युर पाठ र शरणगमनको बारेमा विस्तृत प्रवचन दिनुभएको हो।
सोही दिन बिहान बीसीसी युकेका प्रमुख गुरु खेन्पो छिरिङ्गलगायत धर्मगुरुहरुले घेतुम्बा पाठका साथसाथै घनचक्रको पूजा गरेका थिए। उक्त विशेष पाठलाई सेचेन गुम्बा बौद्धका श्रद्धेय खेन्पो गुरु संघय, बीसीसी युकेका खेन्पो यन्तेन, बीसीसी युके लण्डन शाखाका धर्मगुरु खेन्पो केल्साङ्ग, खेन्पो थुप्तेन, खेन्पो पाल्देन तथा लामाहरु अखिल, दिनेश, कर्म, सोनाम र सानो लामाले संयुक्त रुपमा वाचन गरेका थिए।
सो पावन अवसरमा बीसीसी युकेकोतर्फबाट उपाध्यक्ष क्याप्टेन देब घले र उपाध्यक्ष मेजर हितमान गुरुङलगायतका पदाधिकारी तथा सदस्यहरु, र बीसीसी युके आमाहरुकोतर्फबाट आमा प्रमुख शारदा गुरुङलगायतको टोलीले गुरु रिन्पोछेसमक्ष श्रद्धापूर्वक मण्डल अर्पण गरेका थिए। बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा महासचिव मेजर कुमार गुरुङ एमभिओले हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेको छोटो परिचय प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा बीसीसी युकेका उपाध्यक्ष मेजर हितमान गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो भने अर्का उपाध्यक्ष क्याप्टेन देब घलेले कार्यक्रमको अन्त्यमा सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। सोही क्रममा कार्यक्रममा भोजन दान गरेर पुण्य आर्जन गर्ने भक्तजनहरुलाई पनि बिशेष धन्यवाद दिइएको थियो।
उक्त धार्मिक कार्यमा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बीईएम, धर्म तामाङ्ग, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुखहरु पुष्पा गुरुङ, उर्मिला गुरुङ र जगना गुरुङलगायतको बिशेष उपस्थिति रहेको थियो। बीसीसी युकेका पूर्व आमा प्रमुख उर्मिला गुरुङको संयोजकत्वमा सफलतापूर्वक सम्पन्न भएको उक्त कार्यक्रमलाई महासचिव मेजर कुमार गुरुङ एमभिओले सञ्चालन गर्नुभएको थियो।







