तमु समाज युकेको १९औं वार्षिक साधारणसभा सम्पन्न, काउन्सिलर कमल गुरुङ दम्पतीलाई विशेष सम्मान

SHARE:

लन्डन । तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

आइतबार मे १७ मा लन्डनस्थित विम्बलीको बारहाम पार्कभित्र रहेको समाजको सामुदायिक भवनमा साधारणसभा सम्पन्न भएको हो । पहिलो चरणमा वार्षिक साधारणसभा सम्पन्न गरिएको थियो भने दोस्रो चरणमा हालै बेलायतको स्थानीय निकायको निर्वाचनमा पुनः काउन्सिलरमा निर्वाचित कमलबहादुर गुरुङ दम्पतीलाई विशेष सम्मान गरिएको थियो ।

महासचिव शुब घलेले सञ्चालन गरेको कार्यक्रमको प्रारम्भमा ‘हेल्थ एन्ड सेफ्टीसम्बन्धी जानकारी प्रदान गरिएको थियो । त्यसपछि समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार तथा काउन्सिलर कमलबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ तथा युवा समूहका अध्यक्ष प्रज्ज्वलमान गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष भीमबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्षहरू शिवचन्द्र गुरुङ, अर्जुन गुरुङ, शिवशरण गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ तथा सल्लाहकारहरूको तर्फबाट काउन्सिलर कमलबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरूले तमु समाज युकेको स्थापना, उद्देश्य, परोपकारी कार्य तथा कला–संस्कृति संरक्षणमा संस्थाले खेलेको भूमिकाको चर्चा गर्दै संस्थालाई नेपाली समुदायको साझा पहिचानका रूपमा व्याख्या गरेका थिए । उनीहरूले विदेशी भूमिमा रहेर पनि भाषा, संस्कृति र सामुदायिक एकतालाई मजबुत बनाउँदै आएको संस्थाको योगदान प्रशंसनीय रहेको बताएका थिए ।

प्रगति प्रतिवेदनमा समीक्षा
बन्दसत्रमा महासचिव शुब घलेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सम्पन्न भएका विभिन्न गतिविधिहरूको समीक्षा गरे । उनले ल्होसार, बुद्ध पूर्णिमा, नेपालबाट आएका विशिष्ट व्यक्तित्वहरूको स्वागत–सम्मान, नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई सम्मान तथा विभिन्न च्यारिटी कार्यक्रमहरूको उल्लेख गरे ।

उनले यस्ता गतिविधिले बेलायतमा हुर्कँदै गरेको नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र संस्कारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । ‘यी उपलब्धिहरू कुनै एक व्यक्तिको प्रयास नभई कार्यसमिति, आमा समूह, सल्लाहकार तथा सम्पूर्ण सदस्यहरूको सामूहिक मिहिनेतको परिणाम हो,’ उनले भने ।

यसैगरी, आमा समूहकी अध्यक्ष विमला गुरुङले समूहको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै सदस्यहरूको सुख–दुःखमा समूहले पुर्‍याउँदै आएको सहयोग र संकलित दान रकमबारे जानकारी दिइन् । उनले गत मे ८ मा वेल्सस्थित स्कन्द भेल मन्दिरमा गरिएको आध्यात्मिक भ्रमण सफल भएको उल्लेख गर्दै यस्ता सद्भाव अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी थिइन् ।

त्यसपछि कोषाध्यक्ष चन्द्रकान्त गुरुङ तथा निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले संस्थाको वार्षिक आर्थिक आय–व्यय, चल–अचल सम्पत्ति र बैंक मौज्दातको विवरण प्रस्तुत गरेका थिए । बेलायतको मान्यताप्राप्त लेखा परीक्षक संस्था GNS Associates Limited (Chartered Accountants) का स्वतन्त्र लेखापरीक्षकद्वारा तयार पारिएको आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।

विश्रामका क्रममा दरबार रेस्टुरेन्टद्वारा तयार पारिएको भोजनको व्यवस्था गरिएको थियो ।

भावी योजना र विधान संशोधनसम्बन्धी निर्णय
सभामा विभिन्न एजेन्डामाथि छलफल गर्दै महत्त्वपूर्ण निर्णयहरू पारित गरिएको छ। भावी कार्यक्रमअन्तर्गत समाजले निकट भविष्यमा ‘च्यारिटी डिनर नाइट आयोजना गर्ने तथा अन्य नियमित कार्यक्रमलाई वार्षिक कार्यतालिकाअनुसार निरन्तरता दिने निर्णय गरेको छ।

त्यस्तै, आवश्यक परेमा विधान संशोधनका लागि वार्षिक साधारणसभा हुनुभन्दा तीन महिना अगावै ‘विधान संशोधन समिति गठन गरी समितिले तयार पारेको मस्यौदा साधारणसभामा प्रस्तुत गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । साथै, आजीवन सदस्यहरूलाई प्रदान गरिँदै आएको ब्याजको डिजाइन परिमार्जन गरी थप आकर्षक बनाउने तथा आगामी वार्षिकोत्सवको अवसरमा नयाँ ब्याज वितरण गर्ने निर्णय पनि गरिएको छ।
साधारणसभाका सम्पूर्ण एजेन्डा पारित भएसँगै पहिलो चरणको कार्यक्रम समापन गरिएको थियो ।

काउन्सिलर कमल गुरुङ दम्पतीलाई विशेष सम्मान
कार्यक्रमको दोस्रो चरणमा बेलायतको स्थानीय निर्वाचनअन्तर्गत बरो अफ बार्नेटको बर्न्ट ओक वडाबाट पुनः काउन्सिलर पदमा निर्वाचित समाजका सल्लाहकार कमलबहादुर गुरुङ र उनकी धर्मपत्नी तथा समाजकी सल्लाहकार एवं आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङलाई विशेष सम्मान तथा बधाई ज्ञापन गरिएको थियो।
समाजकी अध्यक्ष, संस्थापक अध्यक्ष तथा आमा समूहकी अध्यक्षले उनीहरूलाई खादा, फेटा र पुष्पगुच्छा प्रदान गरी सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उपस्थित सदस्यहरूले पनि खादा र पुष्पगुच्छामार्फत बधाई ज्ञापन गरेका थिए ।

लेबर पार्टीबाट निर्वाचित तथा पूर्व ब्रिटिस गोर्खा सैनिकसमेत रहेका गुरुङको पुनः विजयीलाई नेपाली समुदायको गौरवका रूपमा लिँदै समाजले खुसी व्यक्त गरेको थियो । सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै काउन्सिलर गुरुङले आफू र आफ्नो परिवारलाई प्रदान गरिएको सम्मानप्रति कृतज्ञता प्रकट गरे । अघिल्लो निर्वाचनदेखि नै समाजबाट प्राप्त सहयोगको स्मरण गर्दै उनले यसपटक पनि समाजका सदस्यहरूले देखाएको सद्भाव, स्नेह र समर्थनका लागि धन्यवाद व्यक्त गरे ।

उनले समाजबाट प्राप्त साथ, सम्मान र शुभेच्छाले आगामी कार्यकालमा जनमुखी सेवा गर्न थप प्रेरणा मिलेको उल्लेख गर्दै समुदायप्रतिको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले काउन्सिलर गुरुङको आगामी कार्यकाल सफल, प्रभावकारी र जनमुखी रहोस् भन्ने शुभकामना व्यक्त गरिन् । साथै, उपस्थित सम्पूर्ण सदस्यलाई सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै साँझ करिब ७:३० बजे कार्यक्रम समापन भएको घोषणा गरिन् । कार्यक्रम बिहान ११ बजेदेखि सुरुवात भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!