बिमला सेने लिम्बुले करिब दुई वर्षदेखि नेपाल पत्रकार महासंघ बेलायत शाखाको नेतृत्व सम्हाल्दै आएकी छन् । सेने २०८१ असार ३० आइतबार बेलायतको फार्नबोरोस्थित गोर्खा वेल्फेयर सोसाइटीको भवनमा भएको पत्रकार महासंघ यूके शाखाको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । उनी पहिलो महिला अध्यक्ष पनि हुन् ।
सेने नेपाल आदिवासी जनजाति महासंघ यूकेकी पूर्वमहासचिव समेत हुन् । उनले आफ्नै स्वामित्वमा गोर्खा च्यानल मिडिया सञ्चालन गरिरहेकी छन् ।
……
श्री रत्न मावि सोल्मा, तेह्थुमबाट जनजातितर्फ एसएलसी पास गर्ने पहिलो महिला हुन् भने मास्टर डिग्री गर्ने पहिलो महिला पनि हुन् । पढाई, घरपरिवार र जागिरलाई सँग सँगै बढाएकी उनले प्रमाणपत्रको पढाई सकिनेबित्तिकै विवाह गरी श्रीमानसँग हङकङ गइन् । हङकङमा रहँदा जीवनको पहिलो जागिरको रुपमा वीएफवीएस रेडियो (ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भीस्) मा काम गरिन् । उनले नेपाल फर्किएपछि पढाई सँगसँगै एकाउन्टेन्टको काम गरिन् भने पार्टटाईमको रुपमा सप्तकोशी एफएममा पनि समाचार वाचन तथा कार्यक्रम संचालन गरिन् ।
महिलाहरु जबसम्म आर्थिक रुपमा सक्षम, सवल र स्वतन्त्र हुँदैनन् तबसम्म महिलाहरुको (चौतर्फी विकास) अवस्थामा सुधार ल्याउन सकिन्न भन्ने धारणा लिएकी उनले महिला सशक्तीकरणकै लागि इटहरीका महिला साथीहरुसँग मिलेर महिला बचत तथा ऋण सहकारी संस्था खोलिन् । उक्त सहकारी हालमा नेपालकै सबैभन्दा ठूलो महिलाहरुद्वारा संचालित सहकारीको रुपमा चिनिन्छ ।
संचार क्षेत्र, सहकारी क्षेत्र, जागिर र घरपरिवारसँगै उनी राजनीतिमा पनि सक्रिय भएर काम गरिन् भने इटहरी जेसीसको उपाध्यक्ष, द रेयुकाई नेपालको सदस्य तथा रेडक्रस सोसाइटी, रोटरी क्लब इटहरीलगायतको सामाजिक क्षेत्रमा समेत काम गरिन् ।
सन् २००९ को अन्त्यतिर बेलायत आएपछि नयाँ परिवेश, भाषा र परिस्थितिसँग जुध्दै उनले जीवनलाई फेरि ‘जीरो’बाट सुरु गरिन् र हाल डेन्टल नर्सको रुपमा बेलायतको लन्डनस्थित एक प्रतिष्ठित सरकारी अस्पतालमा सर्जरी विभागमा कार्यरत छिन् । उनले पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण पनि प्रस्तुत गरेकी छिन् ।
बेलायतको डेढ दशक लामो बसाईमा उनले यहाँका विभिन्न सामाजिक संस्थामा बसेर काम गरिन् । किरात याक्थुङ चुम्लुङ युकेको, सचिव र उपाध्यक्ष भएर दुई कार्यकाल काम गरिन् । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको संस्थापक महासचिव र नेपाल आदिवासी जनजाति महासंघको महासचिव भएर काम गरिन् । सेवारो कलाकार संघ युकेको महासचिव र हाल उपाध्यक्षको जिम्मेवारी निभाइरहेकी छिन् ।
बेलायतको व्यस्तताको बाबजुत उनले सूचना र संचारलाई निरन्तरता दिँदै नेपाली टीभी युकेमा काम गरिन् । त्यहाँ उनले नेपाली समाचार वाचन तथा नमस्ते युरोप दम्पती नामको टीभी कार्यक्रम संचालन गरिन् । पछि उनले अन्य साथीहरुसँग मिलेर गोर्खा च्यानल नामको इन्टरनेट वेसको टेलिभिजन खोलेर चलाइन् । हाल पनि गोर्खा च्यानल नामको न्युज पोर्टल, युटयुव च्यानल र फेसवुक पेजमार्फत निरन्तर समाचार तथा कार्यक्रमहरु प्रकाशन तथा प्रसारणमा सकृय रहेकी छिन्। उनले नेपाल पत्रकार महासंघ (एफएनजे) युकेको उपाध्यक्ष भएर काम गरिन भने हाल उनी एफएनजे युकेको पहिलो महिला अध्यक्षको इतिहास रच्न सफल भएकी छिन् ।
श्रीमान् र एक छोरासँग बेलायतको राजधानी लन्डनमा बसोबासरत उनले धेरै सम्मान तथा पुरस्कारहरु पाएकी छिन् । हालसालै ‘आदिवासी वर्ष महिला २०२४’ ले सम्मानित भइनन् । त्यस्तैगरी उनले जुनकिरी इनीसीएटिभको ‘इन्स्पार्यस वीमेन’को सम्मान पनि प्राप्त गरेकी छिन् । किरात याक्थुङ चुम्लुङ थामेन्दिङमा (महिला समिति)को ‘लिम्बु महिला संचारसेवीका सक्रिय महिला’ को सम्मान प्राप्त गरेकी छिन् भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघले पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर पत्र, सेवारो कलाकार संघले संचारमाध्यमबाट कलाक्षेत्रमा पुर्याएको योगदानको कदर पत्रलगायत विभिन्न संघ संस्थाबाट सम्मान तथा कदरपत्र पाउन सफल भएकी छिन् ।
घरदेशदेखि टाढा परदेशमा पनि समयको व्यवस्थापन गर्न जानियो र कामको प्राथमिकतालाई बुझ्न सकियो भने जस्तोसुकै अवस्थामा पनि घर परिवार, जागिर, संघसंस्थाहरुमा आफूलाई सकृय राख्न सकिन्छ र समाजलाई योगदान दिन सकिन्छ भन्ने ज्वलन्त उदाहरण बन्न उनी सफल भएकी छिन् ।






